विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले एक लाख ८५ हजार रुपैयाँ सहित दश जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाबाट खटिएको प्रहरी टोलीले मोरङको कानेपोखरी गाउँपालिका १ बाट घरधनीसहित जुवाडे पक्राउ गरेको हो । कानेपोखरी गापा– १ कुकुर भुक्का बस्ने मित्र रेग्मीको घरमा जुवा खेलाइरहेको अवस्थामा १० जना जुवाडेलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले कानेपोखरी गाउँपालिका १ का ४० वर्षिय मित्र रेग्मी, सोही ठाउँका ५१ वर्षिय उमाकान्त कार्की, ५२ वर्षिय तोर्ण कार्की, धनपालथान गाउँपालिका ४ का ४७ वर्षिय मोतीलाल राजबंशी, सोही ठाउँका ३१ वर्षिय ओम ब. कटुवाल, रंगेली नगरपालिका २ का ४२ वर्षिय जनक कार्की, सोही ठाउँका ४३ वर्षिय राजु बहादुर थापा, ४९ वर्षिय राजेन्द्र शर्मा, ४२ वर्षिय बिष्णु गुरुङ र ५२ वर्षिय डेफुराम खड्कालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका जुवाडेलाई प्रहरीले जुवा मुद्दा अन्तर्गत म्याद थप भई अनुसन्धान भईरहेको जनाएको छ ।