[caption id="attachment_99006" align="aligncenter" width="1200"]
फाेटाे: गुगल[/caption]
–१ भदौमा विराटनगर–१३ आँखा अस्पतालअगाडि घर भएकी २२ वर्षीया शिखा घिमिरेलाई सोही ठाउँका प्रेमी ३० वर्षीय दिनेश भट्टराईले विभत्स तरिकाले हत्या गरे । दिनेशले आफ्नै प्रेमिकालाई धारिलो हतियार दाउ र चक्कु प्रहार गरेर हत्या गरेका थिए ।
–आफ्नै प्रेमीबाट हत्या भएको तीनदिन बित्न नपाउँदै ३ भदौमा पैसाको लेनदेन र आपसी विवाद हुँदा विराटनगर–४ जामुनगाछीका ठेला चालक २६ वर्षीय सञ्जय सहनीले सुरक्षा गार्डको हत्या गरे । उनले विराटनगर–२ धरानरोडस्थित न्यू बिक्की हार्डवेयरमा सुरक्षागार्डको रूपमा कार्यरत विराटनगरका ५० वर्षीय टङ्क भट्टराईको हत्या गरेका थिए ।
–विराटनगर–११ बस्ने १८ वर्षीय कुहिरा भन्ने विशाल सहनीले विराटनगर–१९ का राहुल भगतलाई पेट र छातीमा छुरा प्रहार गरेर कार्तिक २ गते दशैंको दिन हत्या गरे । विशालको समूहले चाडपर्वको अवसर पारेर लागेको मेला घुम्ने क्रममा दुव्र्यवहार गरेको झोंकमा भगतको हत्या गरेका थिए ।
माथिका प्रतिनिधि घटनाले युवापुस्ता जघन्य प्रवृत्तिको अपराधमा संलग्न भएको पुष्टि गर्दछ । युवावस्था भनेको एकदमै संवेदनशील अवस्था हो ।
यस्तो अवस्थामा किशोर–किशोरीलाई आफ्ना अभिभावकले बेलैमा निगरानी नगर्दा कुलतमा फसेर जघन्य अपराध गर्नसम्म पुग्छन् । यस क्रममा बेहोसी ताल र आपराधिक सोचका कारण कतिपय व्यक्तिको आफ्नै साथी, प्रेमी र नजिकको आफन्तबाट हत्या हुन पुग्छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४÷०७५ को अभिलेख हर्ने हो भने जघन्य प्रवृत्तिको अपराधमा युवा उमेर समूहका बढी संलग्न भएको देखिन्छ ।
आर्थिक वर्षमा १ नम्बर प्रदेशको १४ जिल्लामा ७ हजार ६ सय ९१ वटा अपराध भएकामध्ये जघन्य अपराध ९ सय १८ वटा भएकोमा १ हजार ८१ जना पक्राउ परेको प्रदेश प्रहरीले सार्वजनिक गरेको अभिलेखमा देखिन्छ । जसमा १ हजार २४ जना पुरुष र ५७ जना महिला छन् ।
जघन्य अपराध गर्ने अधिकाश युवा उमेर समूहका रहेका छन् । प्रदेश प्रहरीको आर्थिक वर्षको अभिलेखअनुसार जघन्य अपराधमा १ हजार ८१ जना पक्राउ परेकामध्ये ३ सय २६ जना १६ देखि २५ वर्ष उमेर समूहका रहेका छन् ।
त्यस्तै २६ देखि ३५ वर्षसम्मका ४ सय ८७ जना, ३६ देखि ४५ वर्ष उमेरका १ सय ९० जना, ४६ देखि ६० वर्षका ७४ जना, ६० वर्षका एक र १६ वर्ष मुनिका ३ जना रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यता विज्ञहरूले युवा अवस्थामा बढी अपराधको घटनामा संलग्न हुनु भनेको लागूऔषध दुव्र्यसनी, धूमपान, मद्यपानलगायतको कारणले गर्दा भएको बताएका छन् ।
विराटनगरस्थित कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) एवम् वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलले किशोर उमेरकामा अचानक स्वभाव परिवर्तन भई रिसाउने, झोंक्किने, इन्टरनेटमा बढी झुम्मिने र फिल्म हेर्ने बानी देखिए चिकित्सकको सम्पर्कमा पुग्नुपर्ने बताएका छन् । ‘
शान्त स्वभावका युवा उमेरका मान्छे कहिलेकाहीँ रिसाउनु स्वभाविक भए पनि पटक–पटक त्यस्तो हुन थाले चिकित्सकलाई देखाउनु पर्दछ’ उनले भने, ‘एक्लै बस्न रुचाउने र ढोका थुनेर आफ्ना नानीहरू बस्छन् भने लागूऔषधका लतमा परेका हुन्छन् । मदिरा र चुरोटको लत लागेका किशोरी ट्रयाकभन्दा बाहिर जान्छन् । विस्तारै त्यस्ता युवा अपराधमा लाग्न सक्छन् ।’ व्यवहारमा अचानक आएको परिवर्तन बुझ्नसके बढी परामर्श र थोरै औषधिबाट गलत बाटोमा जान बाट रोक्न सकिने डा. पोखरेलको सुझाव छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले किशोर उमेरमा अभिभावकले आफ्ना छोराछोरीको राम्रोसँग हेरचाह गर्न नसक्दा अपराधमा लाग्ने गरेको बताए ।
‘हाम्रो समाजमा अहिले पनि सानोतिनो झगडालाई सामान्य रूपमा हेर्ने गरिएको छ’ उनले भने, ‘त्यस्तो घटनाले ठूलो रूप लिने गर्दछ । त्यसले पनि अपराध बढी हुने गर्छ ।’ उनले मोरङ प्रहरीले आपराधिक घटनामा कमी ल्याउन सामुदायसँग प्रहरीको अन्तरक्रिया कार्यक्रम ल्याएको जानकारी दिए ।
यस्तो सचेतनामूलक अभियानले आपराधिक क्रियाकलापमा कमी ल्याउने उनले दाबी गरे । गत आर्थिक वर्षमा १ नम्बर प्रदेशमा भएको आपराधिक घटनामा संलग्नको तथ्याङ्क
१६ वर्ष मुनि– ३
१६–२५ वर्ष– ३२६
२६–३५ वर्ष– ४८७
३६–४५ वर्ष– १९०
४६–६० वर्ष– ७४
६० वर्षमाथि– १
जम्मा– १,०८१