उर्लाबारी । नागरिकसँग समन्वय गरेर समाजमा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले थालिएको समुदाय प्रहरी साझेदारी अभियान कार्यक्रम प्रभावकारी बनेको बताएका छन् ।
शनिबार एक कार्यक्रमका इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी–९ मा आयोजित कार्यक्रममा सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्यक्रममा वक्ताहरूले सो कुरा बताएका हुन् । कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रहरी प्रशासनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले सभ्य समाज निर्माणमा प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउँदै सुरक्षाको विषयमा पनि सधैँ नगरपालिकाबाट साथ सहयोग रहने बताए ।

यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले अपराधका घटना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्रियतापूर्वक प्रहरी लागिपरेको बताए । मोरङ प्रहरीले लागूऔषध नियन्त्रणका लागि पनि अभियान सञ्चालन गरेको उनले बताए ।

एसपी भण्डारीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम गरी जनतासँग प्रहरीको गतिविधि बढाउने र जनतासँगै प्रहरी रहेको महसुस गराउने काम गरिरहेको बताए । उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी वडा नं. ८ का वडाध्यक्ष कुलबहादुुर कार्कीले प्रहरी र जनताको समधुर सम्बन्ध कायम हुनसके अपराधका घटना नियन्त्रण हुने बताए ।

यसैबीच प्रहरीले ५० भन्दा बढी सन्थाल समुदायका बालबालिकाहरूलाई शैक्षिक सामग्रीसहित लत्ताकपडा वितरण गरेको छ । शनिबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको डिजिटल बोर्डको समेत उद्घाटन गरिएको छ । इलाका प्रहरी कार्यालय इन्स्पेक्टर रामप्रसाद तिमल्सिनाले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने सवालमा प्रहरी सक्रियतापूर्वक लागिपरेको बताए । जिल्ला प्रहरी कार्यालयको निर्देशन बमोजिम समुदाय प्रहरी साझेदारी, जनतासँग चिया कार्यक्रम, विद्यालयमा लागूपदार्थ दुव्र्यसनी र ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।