धरान/ खानेपानी माग्दै धरानका केही वडाबासीहरूले मङ्गलबार धरान उपमहानगरपालिका घेराउ गरेका छन् । 
 
एसियाली विकास बैङ्क (एडिबी) को ऋण अनुदानमा सञ्चालित एकीकृत शहरी विकास आयोजनामार्फत् सञ्चालित खानेपानी व्यवस्थापन बोर्डमार्फत् पानी वितरण नगरेको भन्दै धरानका केहीवडाबासीले नगरपालिका घेराउ गरेका हुन् । नगरपालिकाको मुख्य गेट अघि धर्ना दिँदै ‘अब रान जाग्नु पर्छ, खानेपानी माग्नु पर्छ’ भन्दै नाराबाजीसमेत गरेका थिए ।
 
धरान–१३, १७, १८ र १९ नम्बर वडाबासीहरू आन्दोलित बनेका हुन् । ‘पानी देऊ दबाव समूह’ गठन गर्दै घेराउ गरेका हुन् । त्यसक्रममा सुरक्षासमेत परिचालन गरिएको थियो । समूहमा आएकाहरूले रित्तो ड्रम र प्लाष्टिकका बोतलसमेत राखेर विरोधमा उत्रिएका थिए । उनीहरूले नगरपालिकाको नेतृत्वप्रति आलोचना गरेका थिए । समूहका अध्यक्ष हर्क साम्पाङ राईले खानेपानीको विषयमा उपमहानगरको लापरवाहीका कारण खानेपानी खानबाट बञ्चित हुनु परेको बताए ।
 
खानेपानी व्यवस्थापन बोर्डले हाल इन्टरकनेक्सनका लागि केही दिनअघि मात्रै सर्वोच्च अदालतबाट फुकुवा भएको छ । आयोजनाले सन् २०१७ जुनसम्ममा खानेपानी खुवाउने गरी सम्झौता गरे पनि पहिलो पटक १ वर्ष र दोस्रो पटक गरी गत डिसेम्बरसम्म पानी खुवाइसक्ने गरी म्याद बढाइएको थियो । तर, हालसम्म पनि खानेपानी विरतणमा चुस्त नभएपछि वडाबासीहरू विरोधमा उत्रिएका हुन् । विरोध कार्यक्रममा जनसरोकार मञ्चसमेत सहभागी बनेको थियो । धरान उपमहानगरपालिकाले भने खानेपानी संस्थानसँगको सहकार्यमा चाडै नै धरानबासीलाई खानेपानी खुवाउने दाबी गर्दै आइरहेको छ ।