बेलबारी/ मोरङको सुन्दरहरैंचा–११ मा शाह वंशीय राजपरिवारले गढीथान मन्दिरको लागि छाडेको सार्वजनिक जग्गा अतिक्रमणपश्चात् पुनः संरक्षण समितिलाई हस्तान्तरण गरिएको छ ।
 
सुन्दरहरैंचास्थित कर्जनामा गढीथानको नाममा १४ कठ्ठा साढेसात धुर जग्गा रहेको छ । गढीथानको पूजाआजा गर्ने स्थलदेखि बाहेकका अरु जग्गा अतिक्रमण भएको थियो । गढीथानको जग्गाको साँध सिमानासमेत यकिन नहुँदा उक्त सार्वजनिक जग्गा मासिँदै गएको थियो । 
 
अतिक्रमण भएको जग्गा खोजी गर्ने र सिमानासम्बन्धी विवाद समाधान गर्न पूर्वसभासद् अमिलाल झाँगडको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको थियो । समितिका सदस्यहरूमा नवराज चापागाईं , वासुदेव घिमिरे, भक्तबहादुर पोख्रेल र चेतनाथ लम्साल रहेका थिए । सोही समितिले सरोकारवाला पक्षसँग वार्ता र संवाद गरी गढीथानको १४ कठ्ठा जग्गासहित थप ३ कठ्ठा जग्गा संरक्षण समितिलाई दिलाउने जनाएको छ । 
 
बुधबार सुन्दरहरैंचा वडा नं. ११ को कार्यालयमा विवाद समाधान समितिले तयार पारेको प्रतिवेदनसमेत सार्वजनिक गरिएको छ । प्रतिवेदनमा शाहवंशीय युवराज त्रैलोक्य विक्रम शाहका छोरा यक्षविक्रम शाहले त्यसक्षेत्रमा बसोबास गर्ने क्रममा गढीथानको पूजाआजाको लागि राखेका थिए । राजपरिवारका नाममा रहेको तीनसय बिघा जग्गामा राजपरिवार बसेपछि त्यसक्षेत्रलाई राजाटोलसमेत भनिदो रहेछ । 
 
तर पछि उनका छोरा सूर्यविक्रम शाहको अंशमा परेपछि उनका छोरा विष्णुविक्रमले १४ कठ्ठा जग्गा समेत गरी २५ हजार मूल्यमा टीकाप्रसाद ढकाललाई बिक्री गरेको तमसुक समितिले फेला पारेका छन् । त्यसैगरी उक्त जग्गासहित अनन्त कार्कीले ३ लाख २५ हजारमा खरिद गरेका थिए । गढीथानको जग्गा संरक्षण समितिलाई हस्तान्तरण गर्न कार्कीसँग माग गरे तापनि उनले हस्तान्तरण गर्न नमानेपछि उक्त जग्गा लेखुप्रसाद ढकाल र भोला ढकालले ८ लाखमा खरिद गरेका थिए ।
 
त्यसपछि नम्बरी जग्गा सँगसँगै खरिद भएको गढीथानको जग्गा ढकालद्वयले गढीथान संरक्षण समितिलाई हस्तान्तरण गरेका हुन् । उनीहरूले गढीथानमा जाने बाटो र वडा कार्यालयका लागि एक कठ्ठा जग्गासमेत उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ । गढीथान जग्गा विवाद समाधान समितिका संयोजक अमिलाल झाँगडको सभापतित्वमा प्रतिवेदन सार्वजनिक गरिएको थियो । कार्यक्रममा वडा नं. ११ का वडासदस्य महेन्द्र लिम्बूलगायत स्थानीयको उपस्थिति रहेको थियो ।