इनरुवा/ खोलाको बाढी र पानीको निकास अभावमा बस्ती डुबानमा पर्दा सुनसरीमा ७ सय ४४ परिवार प्रभावित बनेका छन् ।

सुनसरी प्रहरीका अनुसार पूर्णरूपमा विस्थापित भएका घरधुरी सङ्ख्या २ सय ६४ रहेको छ । यद्यपि प्रहरीले उपलब्ध गराएको तथ्याङ्क स्थानीय तहले उपलब्ध गराएको विवरणको तुलनामा निकै कम छ ।

सुनसरीको बर्जु गाउँपालिकाका अनुसार ५ सय बढी घरधुरी बाढीका कारण पूर्णरूपमा प्रभावित बनेका छन् । सबैजसो स्थानीय खोलाको जलस्तर बढेर बाढी बस्तीमा छिर्ने क्रम जारी रहेकाले प्रभावित सङ्ख्या बढ्न सक्ने प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए ।

निकासको समस्या र बढ्दो जलस्तरका कारण समस्या बढ्दो क्रममा रहेको उनले बताए । १ हजार घरधुरी बाढीको चपेटामा परिसकेको बताउने मेहताले डुबानपछि विस्थापित भएकाहरूलाई स्थानीय विद्यालयहरूमा राखी राहत वितरणको काम जारी रहेको जनाएका छन् । कतिपय वडाहरूबाट सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सार्ने क्रमसमेत जारी रहेको उनले जानकारी दिए ।

इनरुवा नगरपालिकामा १ सय परिवार विस्थापित भएका छन् । उनीहरूलाई स्थानीय विद्यालयमा राखिएको छ । विवरण सङ्कलनको क्रम जारी रहेको बताउँदै उपप्रमुख जमुना गौतम पोखरेलले राहत वितरण जारी रहेको बताएकी छन् ।

यसैगरी सुनसरीको हरिनगर गाउँपालिकामा एक सय घरधुरी प्रभावित भएका छन् । कोशी गाउँपालिकामा एक सयबढीको सङ्ख्यामा स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । भोक्राहा नरसिंह गाउँपालिकामा २५ परिवारलाई विद्यालयमा राखिएको छ । देवानगञ्ज गाउँपालिकामा एक सय घरधुरी प्रभावित बनेको गाउँपालिकाले जनाएको छ ।

दुहबीमा प्रत्यक्ष प्रभावित १ सय ७५ घरधुरीका बासिन्दालाई विद्यालयमा सारिएको छ भने वराहक्षेत्रमा खासै डुबानको समस्या नरहेको बताउँदै नगरप्रमुख निलम खनालले क्षतिको विवरण अपडेट गर्ने क्रम जारी रहेको बताएका छन् ।

वराहक्षेत्र मन्दिर जाने बाटोमा पहिरो खसेकाले आवत–जावत अवरुद्ध भएको बताउँदै नगरप्रमुख खनालले श्रीलङ्का टापुको चिलैया टापुमा कोशीको कटानका कारण ४० घरधुरी प्रभावित बनेको बताए । राहतका लागि टापु पुग्ने अवस्था नभएकाले स्थानीयलाई सुरक्षित स्थानमा बस्न भनिएको नगरपालिकाले जनाएको छ ।

रामधुनी नगरपालिकाको कार्यालयले भने पानीका कारण केही स्थानमा डुबान भए पनि क्षति र उद्धार गर्नुपर्ने अवस्था नभएको जनाएको छ । गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार ५० परिवारलाई विद्यालयमा राखिएको छ भने डुबानपछिको निकासका लागि केही स्थानमा सडकहरू काटेर निकासको व्यवस्था मिलाइएको छ ।

धरान र इटहरी उपमहानगरपालिकाको हकमा केही क्षेत्रमा खोलाको बाढी र डुबान भए पनि उद्धार र राहतको आवश्यकता नरहेको सुनसरी प्रहरीले जनाएको छ । यसैबीच कोशीमा बहाव बढेपछि प्रदेश सरकारका मन्त्रीहरू हिक्मत कार्की र जगदीश कुसियतसहित सुरक्षा निकायको टोलीले स्थलगत निरीक्षण गरी अवस्थाबारे जानकारी लिएको छ ।