नेपालीहरूको ठूलो चाड दशैं भर्खरै सकिएको छ भने दोस्रो ठूलो चाड तिहार नजिकिंंदै छ । आफ्नो दैनिकी चलाउनका लागि रोजगारी खोज्दै देश र विदेशका विभिन्न ठाउँमा पुग्नु धेरै नेपालीको नियती हो । अरु बेला चारतिर छरिएर रहेका नातागोता पनि दशैं, तिहार, छठजस्ता चाडका बेला एक ठाउँमा जम्मा भएर रमाइलो गर्ने चलन छ । यसरी आफन्तसँग भेट गर्न, आर्शीवाद थाप्न यात्रा गर्दा विशेषतः टाढाबाट घर फर्किनका लागि नेपालीहरूले यातायातका सञ्चालकबाट ठगिनु परेको छ । सरकारले नियम कानून बनाएर दूरीअनुसार विभिन्न ठाउँको गाडी भाडा तोकेको छ तर यातायात व्यवसायीहरू सरकारी नियम मान्दैनन् । बरु यो मौकामा कसरी बढी कमाउन सकिन्छ भनेर मनलागी भाडा असुल्छन् । गाडीमा अटिनअटि यात्रु कोच्ने र भाडा पनि तोकिएभन्दा बढी असुल्ने हर्कत धेरै वर्षदेखि चलिरहे पनि सरकारी निकायले दह्रो कारबाही गर्न नसक्दा यात्रु ठग्नेहरूको मनोवल बढ्दो छ । मोरङमा प्रहरीले गरेको चेकजाँचमा धेरै यात्रु ठगिएको भेटिएको थियो । यो त चेकजाँचका क्रममा फेला परेको घटना मात्र हो । यसरी नै देशैभर चेकजाँच गर्ने हो भने यात्रुहरू जताततै ठगिएका छन् ।

यातायात व्यवसायीहरूले कहिले सिन्डिकेटका नाममा ठग्ने त कहिले अन्य नाममा ठग्ने क्रम बढे पनि उनीहरू विरुद्ध प्रभावकारी कारबाही हुन सकेको छैन । यात्रु ठग्नेलाई कडा कारबाही हुनु आवश्यक छ । पूर्व क्षेत्रको यातायात व्यवसायीहरुले दशैं तिहारमा मात्र होइन अरू समयमा पनि यात्रुलाई तोकिएभन्दा बढी भाडा असुल्ने र तोकिएको भाडादरबारे कुरा गर्दा बिच बाटोमा उतार्ने गरेका गुनासा सुन्ने गरिएको छ । त्यतिमात्र होइन सरकारले कानूनै बनाएर लागू गरेको ज्येष्ठ नागरिकलाई छुट त्यस्तै विद्यार्थीलाई दिनुपर्ने छुट पनि अधिकांशले दिंंदैनन् । छुट दिनु परे गाली गर्ने, दुव्र्यवहार गर्ने गरेको गुनासो ज्येष्ठ नागरिक र विद्यार्थीहरूले बारम्बार गर्ने गरेका छन् । यो पनि अर्को ठगी हो । सरकारले लागू गरेको कानून नमान्ने त्यस्ता व्यवसायीलाई कडा कारबाही हुनु आवश्यक छ । तर, राजनीतिक दलदेखि प्रहरी प्रशासनलाई समेत चन्दा दिने र प्रभावमा पार्ने यातायात व्यवसायीलाई सितिमिति कारबाही भएको पाइँदैन ।

यातायात क्षेत्रका मजदुरदेखि व्यवसायीसम्मका विभिन्न राजनीतिक सङ्गठन छन् । ती सङ्गठनहरू यातायात क्षेत्रलाई सुधार गर्नभन्दा बढी दलका नेता र प्रहरी प्रशासन रिझाउन व्यस्त हुन्छन् । त्यसैको प्रभावले उनीहरू यात्रुलाई जति ठगेपनि कारबाहीमा पर्दैनन् । यातायात व्यवसायीको सिन्डिकेट अन्त्य गर्न सरकारै लागिपर्दा समेत सफल नभएको घटनाबाट पनि यातायात क्षेत्रको कनेक्सन कति दह्रो छ भन्ने बुझ्न सकिन्छ । यातायात क्षेत्रमा व्याप्त विकृति अन्त्य गर्न सरोकारवालाहरूले चासो देखाउनु जरुरी छ । यात्रुलाई ठगी गर्ने दुव्र्यवहार गर्ने लगायतका विकृति यातायात क्षेत्रबाट भइरहेकाले सबैभन्दा बढी चासो यातायात क्षेत्रकै लागि भनेर गठन भएका सङ्गठनहरूले देखाउन आवश्यक छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्न र यात्रु ठगी गर्नेलाई कारबाही गर्न यस्ता सङ्गठनहरूले पहल गर्नुपर्छ ।