विराटनगर / प्रदेश नं–१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले मानवता विरोधी कार्य गर्नेलाई कानूनअनुसार कारवाही गरिने बताएका छन् ।
राष्ट्रिय मानवाधिकार आयोग प्रदेश नं–१ कार्यालयद्वारा आज विराटनगरमा आयोजित ‘सबैका लागि घर–घरमा मानवाधिकारः शान्ति र विकासको आधार’ प्रमुख नाराका साथ ७१औँ अन्तर्राष्ट्रिय मानवाधिकार दिवस तथा मानवाधिकार प्रदेश महाभेला–२०७६को सन्दर्भमा ‘दलित मानवाधिकारको अवस्था र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले छुवाछुतको विरोधमा उजूरी नलिने प्रहरीमाथि पनि कारवाही हुने बताए ।
मन्त्री कार्कीले मानवाधिकार विषयमा राज्यले तय गरेको न्यूनतम मापदण्ड पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आर्थिक र सामाजिक कारणले प्रश्रय पाएको यस्तो घिनलाग्दो विषयलाई समाजबाट हटाउन सबै सजग बन्नुपर्नेमा जोड दिए ।
प्रमुख न्यायाधिवक्ता चुडामणि आचार्यले मानवसभ्यताका कलङ्कका रुपमा रहेको छुवाछुत हटाउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए । प्रहरी उपरीक्षक विश्व अधिकारीले मानव मर्यादा र प्रतिष्ठामा आँच आउने छुवाछुतलाई प्रश्रय दिनेलाई कारवाही हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष विक्रम लुइँटेल, अनौपचारिक क्षेत्र सेवा केन्द्रका प्रमुख सोमराज थापा, सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, नेपाली काँग्रेस मोरङका सचिव यदु विष्ट र राष्ट्रिय मानवाधिकार आयोगका प्रमुख मोहनदेव जोशीले सामाजिक परिवर्तनको दिशातर्फ हामी सबैले एकजुट भएर लागेमा छुवाछुत प्रथा हट्ने विश्वास व्यक्त गरे ।