भद्रपुर / झापा बिर्तामोड–८ सखरबाडीकी २१ वर्षीया सावित्रा कटवाल एकदशकदेखि ओछ्यानबाट चलमलाउन सकेकी छैनन् ।
उनको लागि संसार त्यहीँ ओछ्यान छ । शरीरको आधा भागले काम गर्दैन । ९ वर्षको उमेरमा टाँडे घरबाट लडेकी उनी त्यसयताका केही वर्षपछि ओछ्यान सारथी बनेको हो । आमा यमुनाका अनुसार लडेर टाउँकोमा गम्भीर चोट लागेको थियो ।

त्यसको असर विस्तारै कम्मरभन्दा मुनीको भागमा पर्दै गयो । जायजेथाले भ्याएसम्म उपचारका लागि नेपालमा सबैजसो अस्पतालहरू पु¥याइन् । तर, खर्च मात्रै । अस्पाताल धाउँदा धाउँदै तीन लाख रुपैयाँभन्दा बढी सकियो । ‘यता पो ठीक हुन्छ कि उता पो ठीक हुन्छ कि भन्दै कुदाइँयो, तर, केही भएन’–गहँभरि आँशु पार्दै उनी भन्छिन् ।

यमुनाको पहिलो सन्तान सावित्रा । उनको अवस्था बिग्रिएपछि पति गणेशले पनि मानसिक सन्तुलन गुमाउन पुगे । त्यसको भार पनि यमुनामाथि नै प¥यो । एकातिर छोरीको उपचारको समस्या, अर्कोतिर पतिको अवस्था । नैराश्यताले उनी पनि रुग्ण बनिन् । तीन वर्षपछि बल्लतल्ल पति सामान्य अवस्थामा आए । तर, छोरीको अवस्था उहीको उही ।

सावित्राले ६ कक्षासम्म जसोतसो छिचोलिन् । त्यसपछि थलिएकी छोरीको संसार साँघुरिएर बन्द कोठामा आइपुगेको छ । उपचार होला भन्ने अझै आश जीवत छ, यमुनामा । तर, आर्थिक विपन्नताका अगाडि उनको केही जोडबल चल्दैन । सरसहयोगको अपेक्षा क्षीण छ । सिवाय साउदी अरेबियाबाट आएको २८ हजार रुपैयाँबाहेक ।

स्थानीय सरकारको भर छैन । सहयोगको लागि अहिलेसम्म कोही जनप्रतिनिधिले यमुनाका घर टेकेका होइनन् । भोट माग्न आए, तर पीडा देखेनन् । श्रीमान्को कमाइले घरको चुल्हो बलेको छ । त्यसैबाट दुई छोराको पढाइ अगाडि बढ्दै छ । सम्पत्तिको नाममा १५ धुर जग्गामा अडेको एउटा सानो घर र त्यहीँ माटो हो । त्यो बेचेर उपचार गर्ने हुर्मत कटुवाल परिवारले लिएका छैनन् ।

हिँड्न मात्रै सक्ने भइदिए कटुवाल परिवारको लागि अहोभाग्य ! तर, कसरी ? ‘प्रचार–प्रसार भइदिए सहयोग हुन्थ्यो कि ?’–यमुना सुनाउँछिन् । निरन्तर उपचार भए ठीक हुने चिकित्सकको सुझाब बिर्सेकी छैनन् । उपचार खर्च १५ लाख रुपैयाँ जति लाग्ने कुरा उनको मनमा सूल झैं बनेर बसेको छ ।

सावित्रालाई ओल्टाइ–पल्टाइ गर्न एक जना ढुक्कै बस्नुपर्छ । ‘सुताउने–उठाउने गर्नुपर्छ’–उनी भन्छिन् । अहिले सावित्राका लागि ८ नम्बर वडा कार्यालयले ह्वील चियर दिएको छ । त्यो उनको लागि साहरा बनेको छ । स्थानीय अनिल गौतमले सामाजिक सञ्जालमा सहयोगको लागि याचना त गरेका छन् ।

तर, सहयोग आउने हो या होइन्, भगवान भरोसामा जीवन चलेको छ कटुवाल परिवारको । सावित्राले पनि सहयोगको याचना गरेकी छन् । कटुवाल परिवारमा आशा जीवित छ । तर, कहिले ? अनुत्तरित प्रश्नको जवाफ न त यमुनामा छ न त सावित्रामा ।