लक्ष्मीमार्ग / बेलबारी–१० स्थित भाउन्ने चोकदेखि लेटाङको कीर्तिमानसम्म चल्ने टिपरले अत्यधिक धुलो उडाएर भाउन्ने चोकका बासिन्दालाई श्वास–प्रश्वासमा समस्या पु¥याएको भन्दै स्थानीयले उक्त सडक–खण्डमा टिपरलाई चल्न रोक लगाएका छन् ।

मङ्गलबार बिहानैदेखि स्थानीयले भाउन्ने चोकस्थित भाउन्ने कीर्तिमान सडक–खण्डमा टिपर चल्न अवरोध गरेका हुन् । लेटाङको कीर्तिमानमा उत्तरी मोरङ क्रसर उद्योग, चिसाङ क्रसर उद्योग र ओम साई क्रसर उद्योग गरी ३ वटा क्रसर उद्योग रहेका छन् । तीनवटै क्रसर उद्योगबाट सञ्चालन हुने दैनिक सयौंको सङ्ख्यामा चल्ने टिपरले उडाएको धुलोको कारणले स्थानीयको श्वास–प्रश्वासलगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या बढेको स्थानीय विवेक गुरुङले बताए ।

केही महिनाअगाडि क्रसर उद्योग व्यवसायी, स्थानीय र जनप्रतिनिधिबीच भाउन्ने चोकदेखि ३ सय मिटर उत्तरसम्म कालोपत्रे गर्ने लिखित सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन गर्ने ग्यारेण्टी नहुञ्जेल टिपर चल्न नदिने स्थानीय कमल डोटेलले बताए । क्रसर उद्योग व्यवसायीहरूले उक्त त्रिपक्षीय सहमति चाँडै कार्यान्वयन गरेर सहयोग गरिदिए समस्या समाधान हुने बेलबारी–१० का वडाध्यक्ष गङ्गा याक्खाले बताए । मङ्गलबारदेखि सडक अवरुद्ध भएपछि टिपर आवत–जावतमा समस्या परेको छ ।