धरान / आर्थिक बर्ष २०७६/२०७७ को बजेट २ अर्ब ७७ करोड रुपैया बजेट पारित गदैं धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४३ औं सिनेट बैठक आज सम्पन्न भएको छ । ढेड बर्षदेखि सिनेट बैठक नहुदा बजेट, दिक्षान्तलगायतका महत्वपूर्ण कामहरु प्रतिष्ठानमा हुन सकेका थिएनन् । बालुवाटारमा बसेकाे बैठकले ४ बर्षदेखि रोकिएको दिक्षान्त समारोह आगामी फागुन २४ गते गर्ने निर्णय गरेको छ ।
सहकुलपति तथा सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा भएको बैठकले प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुको तलब सरकारले वृद्धि गरेअनुसार १८ देखि २० प्रतिशतसम्म आन्तरिक स्रोतबाट उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिष्ठानको कर्मचारी, शिक्षक नियुक्ती, बढुवाको लागि भने लोकसेवा आयोगबाट सदस्य रहने गरि ७ सदस्यीय समिति गठन गरेर बढुवा, नियुक्र गर्ने निर्णय भएको प्रतिष्ठानका सहप्रबक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।

उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
नयाँ उपकुलपति नियुक्तिका लागि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्री संयोजक रहने गरी ३ सदस्यीय सिफारिश समिति गठन गरेको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी गराएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य उषा झा र अर्थ मन्त्रालयका सचिव राजन खनाल रहेका छन् । तीन सदस्यी समितिले गरेको सिफारिसको आधारमा कुलपतिले उपकुपति नियुक्ति गर्ने छन् । एक महिना भित्र उपकुलपति नियुक्ति गरिसक्ने बैठकमा छलफल भएको प्रतिष्ठानका सूचना अधिकृत धुर्व नेपालले जानकारी दिएका छन् । उपकुलपति नियुक्ति पछि मात्र रिक्त रहेको रजिष्टार, डिपुटी रजिष्टारलगायतको नियुक्ति गरिने नेपालले जानकारी दिए । गत साउनमा रजिष्टार तुलबहादुर श्रेष्ठ विरुद्ध भ्रष्टचार मुद्वा विशेष अदालतमा परे पछि उनी निलम्बनमा परेको थिए । उनको पदावधी भदौंमा सकिएको थियाे । गत साउनदेखि उपकुलपति, शिक्षा अध्यक्ष(रेक्टर) र सदस्य सचिव(रजिष्टार) एउटै व्यक्तिले चलाउदैं आएका छन् । गत साउनमा तत्कालिन उपकुलपति डा. राजकुमार रौनियार पनि भ्रष्टचार मुद्वामा पक्राउ परे पछि कार्यवहाक उपकुलपतिको रुपमा रेक्टर डा. गुरुप्रसाद खनालले चलाउदैं आएका छन् । 

उपकुलपतिको लाईनमा काे काे छन् ?
रेक्टर गुरुप्रसाद खनाल कार्यवहाक उपकुलपति छन् । प्रतिष्ठान भित्रबाट नियुक्ति पाएका पूर्व उपकुलपतिहरु डा. राजकुमार रौनियार र बलभद्रप्रसाद (वीपी( दासलाई भ्रष्टचारको मुद्वा लागेकाले अवको उपकुलपति प्रतिष्ठान बाहिरबाट नियुक्ती गर्ने सरकारले तयारी गरेको बताइएको छ । उपकुलपतिको चर्चामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. अर्जुन कार्की, विराट नर्सिंङ होमका संचालक डा. ज्ञानेन्द्र गिरीको नाम रहेको छ । रेक्टर तथा कार्यवहाक उपकुलपति भएर काम गरिसकेका डा. गुरु खनाल पनि उपकुलपतिका दावेदार हुन । एक कार्यकाल खनाललाई नै चलाउन दिने पनि चर्चा चल्न थालेको छ ।