भद्रपुर / सुनचाँदी तथा नगद हिनामिनाबाट जोगिन अपहरणको नाटक गर्ने एक भारतीय कामदारलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिक दमकस्थित रुद्र श्रेष्ठको सुनचाँदी पसलमा विगत लामो समयदेखि कालीगडको रुपमा काम गर्दै आएका थिए ।
कालीगड भारत पश्चिम बङ्गाल कोलकता पखाना, ततागद घर भएका अन्दाजी ३५ वर्षीय कमल कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ पर्ने भारतीय कर्मकार दमकस्थित रुद्र श्रेष्ठको सुनचाँदी पसलमा कालीगडको रूपमा विगत लामो समयदेखि काम गर्दै आएका हुन । काम गर्ने सिलसिलामा कर्मकारले श्रेष्ठको सुनसहित नगद हिनामिना गरेको अनुसन्धानको क्रममा खुलेको एसपी कोइरालाले बताए । श्रेष्ठको सुनचाँदी पसलको सुन र नगद हिनामिना गरेको घटनाबाट जोगिन कर्मकारले गत माघ १२ गते अपहरण परेको नाटक गरेका थिए । अपहरण परेको भन्दै कर्मकारले मालिक श्रेष्ठलाई फोन गरेर जानकारी गराएका थिए ।
अपहरण परेको जानकारी आए पछि श्रेष्ठले इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए । खबर पाएपश्चात प्रहरी टोली उद्धार गर्न जिल्लाभरि खटिएको उनले सुनाए ।
कर्मकारको फोन बन्द भएकोले उनको लोकेसन तत्काल पत्ता लगाउन नसकिएपनि खोजी कार्यलाइ निरन्तरता दिइएको उनले जनाए । तीन दिनपछि माघ १५ गते उनको फोन खुलेपछि लोकेसन पत्ता लाग्यो, अपहरण परेको कर्मकार सङ्खुवासभामा भएको देखाएपछि तत्काल सङ्खुवासभाको प्रहरीसँग सहकार्य गरेर उनलाई १७ गते शुक्रबार उद्धार गरिएको प्रहरीले जनाएको छ । तर उनी अपहरण नपरेको घटना खुलेपछि पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक ल्याएर प्रहरीले अनुसन्धान शुरु गरेको उनले बताए । उनलाई सोधपुछ गर्दा मालिकलाई पैसा कसरी तिर्नु भनेर त्यसबाट बच्नलाई आफू अपहरण परेको नाटक रचेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।