कर्मचारीहरूको बद्मासीका कारण मालपोत कार्यालयलाई आमनागरिकले ‘भ्रष्टहरूको अड्डाका रूपमा बुझ्ने गरेका छन् । सबै कर्मचारी त भ्रष्ट नहोलान् तर धेरै जसोले सेवाग्राहीलाई दिएको झन्झट, पैसा बुझाएपछि अफ्ठ्यारा काम पनि तुरुन्तै हुने चलन, बिचौलियाहरू बिना सर्वसाधारणले काम गर्न नसक्ने अवस्था र पटक–पटक अख्तियारबाट मालपोतका कर्मचारीहरू पक्राउ परेका घटनाले आम बुझाइलाई अझ बलियो बनाउँछ । मालपोतमा मौलाएको भ्रष्टाचार र ढिलासुस्तीलाई न्यूनीकरण गर्नका लागि भनेर सरकारले डिजिटल अनलाइन सेवा शुरु ग¥यो । सँधै भीडभाड हुने मालपोत कार्यालयमा छिटो छरितो सेवा प्रदान गर्ने सरकारको उद्देश्य भएपनि अनलाइन सेवा पछिल्लो समय अर्को समस्याका रूपमा देखिएको छ । छिटो छरितो काम होस् भनेर शुरु गरिएको अनलाइन सेवाले आम सेवाग्राहीलाई झनै समस्या बढाएको छ ।

कर्मचारीहरू ‘सर्भर चल्दैन’ भनेर पन्छिन्छन् । सेवाग्राही एउटा समान्य कामका लागि दैनिक मालपोत धाउनुपर्ने अवस्था छ । भ्रष्ट मानसिकताका कर्मचारीलाई अनलाइन सेवा नयाँ बहाना भएको छ । झापाको दमकस्थित मालपोत कार्यालयमा सानो कामका लागि पनि सेवाग्राहीहरू तीन दिनसम्म धाइरहेका भेटिए । यहाँ कर्मचारीहरूले सर्भर नचलेको भनेर त फर्काउने गरेका छन् नै । अझ कुनै कर्मचारीले त आफूलाई सर्भर चलाउनै नआउने र चलाउन जान्ने कर्मचारी बिदामा रहेको जवाफ दिएर फर्काएको सेवाग्राहीको गुनासो छ । मालपोत कार्यालयको यस्तो शैली दमकमा मात्र होइन अन्यत्र पनि देखिन्छ । अनलाइन सेवाका नाममा सेवाग्राहीलाई दुख दिनु निन्दनीय छ । सर्भर चल्ने र नचल्ने समस्या हुन सक्छ ।

तर, त्यसलाई कसरी व्यवस्थापन गर्ने र विकल्पमा कसरी सेवा दिने भन्ने नीति बनाउने काम पनि उनीहरूकै हो । सेवा दिन नसकेपछि मालपोत कर्मचारीले विनम्रतापूर्वक सेवाग्राहीलाई जानकारी गराउनुपर्छ तर मालपोतका कर्मचारीहरू ‘अनलाइन भन्दैमा फुमन्तर भने जसरी काम नहुने रुखो जवाफ फर्काउँछन् । उनीहरूको यस्तो व्यवहारले सेवाग्राहीमा झन् नकारात्मक भावना पलाउँछ । र, उनीहरू मलपोत भन्ने बित्तिकै ‘भ्रष्टहरूको अखडा’ का रूपमा बुझ्छन् । मालपोतलाई चुस्त, सेवाग्राहीमुखी बनाउन सरकारको चासो पनि कम भएको देखिन्छ । अनलाइन सेवा शुरु गरे पनि दक्ष कर्मचारी नहुँदा, दु्रत गतिको इन्टरनेट नहुँदा समस्या बढेको हो । हरेक समस्याका समाधान पनि हुन्छन् । ती समस्या पहिचान गरेर निराकरण गर्ने दायित्व सरकार र सम्बन्धित निकायको हो । मालपोतलाई नाम मात्रको होइन वास्तविक चुस्त, छिटो छरितो र भरपर्दो बनाउन ध्यान पु¥याउनु आवश्यक छ ।