धरान । नेवा च्यारिटी १० के रनमा भारतीय सेनाका बागलुङ निवासी तीर्थ पुन पाँचौं पटक उपाधि जित्न सफल बनेका छन् ।

उनले निर्धारित दूरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गर्दै खुलातर्फ विजेता घोषित हुँदै नगद ५० हजार रुपैयाँसहित ट्रफी पाए । उनले एक साताअघि नेपाली सेनाले गरेको हाफ म्याराथुन प्रतियोगितामा पनि विजेता बनेका थिए ।

महिलातर्फ धाधिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । श्रेष्ठ हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथलेटिक्सतर्फ स्वर्ण पदकधारी हुन् । उनले ३४ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् ।

खुलातर्फ पुरुषमा ३१ मिनेट ३३ सेकेण्डमा दूरी पूरा गर्दै लक्ष्मण मल्ल दोस्रो बने । उनी धरान रनमा दोस्रो पटक दोस्रो बन्न सफल बनेका हुन् । त्यस्तै खिमबहादुर खत्री तेस्रो बनेका छन् । उनी मल्लभन्दा २ सेकेण्डले ढिला भए । दोस्रो र तेस्रो बनेका मल्ल र खत्रीले क्रमशः नगद ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

महिलामा राममाया बूढा दोस्रो बन्दा छेन्दीमाया राई तेस्रो बनेकी छन् । बूढाले ४० मिनेट ३४ सेकेण्डमा दूरी पूरा गर्दा राईले ४२ मिनेट २ सेकेण्डमा पूरा गरिन् । भेट्रानमा छिरिङ लम्हू विजेता बन्दा भीममाया राई दोस्रो र गीतादेवी लिम्बू तेस्रो बने । त्यस्तै पुरुष भेट्रानमा दिलबहादुर श्रेष्ठ विजेता बन्दा धर्म महर्जन र सुवर्ण सुब्बा क्रमशः दोस्रो र तेस्रो बने । अण्डर १६ मा महिलातर्फ बन्दना बूढा प्रथम बन्दा कृष्टिना राई र प्रंशसा वन क्रमशः दोस्रो र तेस्रो बनेका छन् ।

अण्डर १६ को पुरुषमा किरण लिम्बू विजेता बने । त्यस्तै रुसियन राई दोस्रो र रोधन राई तेस्रो बनेका छन् । अण्डर १२ मा महिलातर्फ प्राश्ना भण्डारी प्रथम बन्दा इसिका तामाङ दोस्रो र कुसुम राई तेस्रो बने । पुरुष अण्डर १२ मा अनिष लिम्बू, सुजन राई र दिवस राई क्रमशः प्रथम दोस्रो र तेस्रो बने । उनीहरुले नगद ७ हजार, ५ हजार, ३ हजार रुपैयाँसहिट मेडल र प्रमाण पत्र पाए ।

कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राई, मिस नेपाल शृङ्खला खतिवडा, आयोजक धरान रनका अध्यक्ष रोमु राई, पूर्वअध्यक्ष मनिष तामाङलगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा ४ हजारभन्दा माथि धावकधाविकाहरु सहभागी बनेका थिए । यसपटक बंगलादेश, पूर्वोत्तर भारतका विभिन्न जिल्ला तथा राज्यबाट सहभागी बनेका थिए ।