पथरी / युवतीमाथि सामूहिक बलात्कारमा आरोपित एकजनालाई प्रहरीले १४ बर्षपछि पक्राउ गरेको छ । बलात्कार प्रकरणमा अदालतबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे–१०, का ३६ वर्षीय सूर्य विश्वकर्मालाई पक्राउ गरेको हो ।

विश्वकर्मालाई सुनसरीको धरान–६ बाट इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीको नेत्रृत्वको टोलीले पक्राउ गरेको छ । घटनापछि फरार रहेका उनी विरुद्ध तत्कालिन पुनरावेदन अदालत विराटनगरले २०७१ साल वैशाख १० गते १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानको फैसला सुनाएको थियो । घटनाअनुसार विश्वकर्मासहित पथरीशनिश्चरे –१० का राजु भनिने रामबहादुर बुढाथोकी र दीपक नेपालीले २० वर्षीया युवतीलाई २०६२ साल फागुनमा दुई दिनसम्म दीपकको घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार पथरीशनिश्चरेको भुटानी शरणार्थी शिविरमा रहेको दिदीको घरमा पुगेकी युवती सामूहिक बलात्कारको सिकार भएकी थिइन् । साँझको समयमा चउरमा निस्किएका बेला तीन युवा आएर ती युवतीलाई आफ्नै साथीकी बहिनी रहेको भन्दै घुम्न जाउँ भनेर फकाउँदै लगेपछि दीपकको घरमा पु¥याएर दुई दिनसम्म बन्धक बनाउँदै सामूहिक बलात्कार गरेको उनको भनाइ छ ।
घटनापछि प्रहरीले जवरजस्ती करणी मुद्दा दर्ता गरे पनि तीनै जना फरार थिए ।

उनीहरु विरुद्ध पुनरावेदन अदालत विराटनगरले २०७१ साल वैशाख १० गते जनही १० वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर त्यस अघि २०६९ साल पुस २४ गते तीनै जनालाई जिल्ला अदालत मोरङले भने सफाई दिएको थियो । जिल्लाको आदेश उल्टाउँदै पुनरावेदनले तीनै जना विरुद्ध कैद र जरिवानाको फैसला गरे पनि उनीहरु पक्राउ भने परेका थिएनन् । विश्वकर्मा पक्राउ परे पनि बुढाथोकी र नेपाली फरार रहेका कारण उनीहरुको खोजी भइरहेको पथरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनापछि गाउँको घर, जग्गा, जमिन त्यत्तिकै छाडेर श्रीमती र सन्तानसहित भागेर धरान पुगेका विश्वकर्मा त्यहाँ आफ्नै घर बनाएर बसेका थिए । पक्राउ परेका विश्वकर्मालाई प्रहरीले आइतबार जिल्ला अदालत मोरङमा बुझाएको छ । विश्वकर्मालाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।