केही वर्षयताको प्रहरी तथ्याङ्कले झापामा आत्महत्याका घटना बढेको देखाउँछ । आत्महत्याविरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रमहरू सञ्चालन भइरहे पनि बर्सेनि आत्महत्या बढिरहनु चिन्ताको विषय हो । अझ गम्भीर विषय चाहिँ आत्महत्या गर्नेमा अधिकांश किशोर अवस्थाका युवायुवती छन् । प्रहरीमा दर्ता भएका घटनाको आधारमा तीन वर्ष यताको तथ्याङ्क अध्ययन गर्ने हो भने आर्थिक वर्ष ०७३÷०७४ मा २ सय ३० जनाले आत्महत्या गरेका थिए । ०७४÷०७५ आत्महत्या गर्नेको सङ्ख्या बढेर २ सय ४७ पुग्यो । ०७५÷०७६ मा आइपुग्दा अझै सङ्ख्या बढेर २ सय ८८ पुग्यो । चालु आर्थिक वर्षको माघसम्म मात्र ९१ जनाले आत्महत्या गरिसकेका छन् । एउटा जिल्लामा वर्ष दिनमा यतिका आत्महत्या घटना हुनुलाई सामान्य मान्नु हुँदैन । केही गर्ने जोसिलो उमेरका युवायुवती किन आत्महत्याको बाटो रोजिरहेका छन् भन्नेमा समाजले चासो देखाउनु आवश्यक छ ।

प्रहरीको अध्ययनले पारिवारिक अस्थिरता, लागूऔषध, अनुशासनमा देखिएका समस्या, सामाजिक सञ्जालदेखि जीवनमा आइपर्ने सामान्य असफलतामा समेत युवापुस्ता आत्महत्याको बाटो रोजिरहेका छन् । प्रहरीले अहिले आत्महत्या विरुद्ध विद्यालयस्तरदेखि नै सचेतना अभियान चलाइरहेको छ । अभिभावक र विभिन्न समुदायलाई पनि सचेतना दिइरहेको छ तर सचेतना कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । आत्महत्यालाई मनोचिकित्सकहरू रोगका रूपमा लिन्छन् । उनीहरूका अनुसार मनोरोगीहरूलाई समयमै उपचार गर्न सके आत्महत्याबाट बचाउन सकिन्छ । सूचना प्रविधिको द्रुत विकासले अहिले घरघरबाटै संसारको जानकारी लिन सकिने अवस्था छ ।

तर, समाजले त्यसको सदुपयोग गर्न नसक्दा विकृति पनि निम्तिरहेको छ । नेपाली समाज अहिले आधुनिक र पुरातन सोचको सङ्क्रमणकालीन अवस्थामा छ । पुरानो सोचको अन्त्य भइनसकेको तर आधुनिकता भित्रिसकेको अवस्थाका कारण पनि समाजमा सङ्क्रमणको अवस्था देखिएको हो । यस्तो अवस्थामा समाजमा विभिन्न प्रकारका विचलनहरू देखिन सक्छन् । यो अवस्थाले पनि आत्महत्या बढाउने विभिन्न अध्ययनहरूले देखाइसकेका छन् । देशमा बढ्दो भ्रष्टाचार, बेरोजगारी तथा बेथितिहरूले पनि युवापुस्तामा नैराश्यता बढेको छ । त्यसैले आत्महत्यालाई मानसिक मात्र होइन सामाजिक रोगका रूपमा लिइनुपर्छ । नेपाली समाजमा बदलिँदो जीवनशैलीका कारण पनि सामाजिक विकृतिहरू बढिरहेका छन् । यस्ता कारणहरू पनि आत्महत्यासँग जोडिने गर्छन् । यी सबै कुरालाई एकैचोटी रोक्न त सम्भव छैन । तर, समाजका साना साना इकाईहरूबाटै सचेतना जगाउन र टोल टोलमा मनोसामाजिक परामर्श गरेर आत्महत्या कम गर्न सकिन्छ । स्थानीय तहहरूले वार्डस्तरबाटै यस्तो परामर्श दिइनु आवश्यक छ । घरघरबाटै आफन्तहरूमा कुनै मानसिक समस्या देखिए लुकाउने होइन मनोपरामर्श तथा उपचारमा ध्यान दिनु आवश्यक छ ।