धरान । धरानका होटलहरूलाई अब ‘टुरिष्ट म्याप’ मा राखिने भएको छ । हालै धरानमा गठित होटल व्यवसायी समितिले धरानका होटलहरूलाई टुरिष्ट म्यापमा राख्ने तयारी थालेको हो ।

यसअघि धरानका होटललाई म्यापभित्र राखिएको थिएन । धरानमा झण्डै ५० को हाराहारीमा होटल रहेका छन् । त्यसमध्ये समितिसँग २७ वटा होटल तथा लज आवद्ध रहेका छन् । समिति गठन भएको दुई साताको बीचमै क, ख र ग श्रेणीमा वर्गीकरण गरेको छ । १५ भन्दा माथि आवासीय कोठा रहेकाहरू क श्रेणीमा पर्छन् । १० भन्दा माथि १४ वटा कोठासम्मलाई ख र १० भन्दा मुनीका ग श्रेणीमा राखिएको समितिका संयाेजक मनोजकुमार मेन्याङ्बोले बताए ।

उनका अनुसार आवद्ध रहेका होटलहरूलाई टुरिष्ट म्यापभित्र राखेर धरानका पर्यटकीय स्थलहरू समेतलाई जोडेर टुरिष्ट गाइड पुस्तक बनाइने छ । समितिका आवद्ध रहेका होटलहरूलाई अन्य क्षेत्रका होटल व्यवसायसँग समन्वय गरेर छलफलका माध्यमद्वारा धरानका होटलसँग परिचित गराउने उनले बताए ।