धनकुटा जिल्लाको महालक्ष्मी नगरपािलका वडा नं.४ स्थित डाँडाखर्क खारटोलमा जमिन भासिन थालेपछि स्थानीयमा त्रासको वातावरण छाएको छ ।
लामो समयदेखि खडेरी लागिरहेको अवस्थामा एक्कासी जमिन भासिन थालेपछि खारटोलका ७ घर परिवार त्रासदीपूर्ण वातावरणमा आतङ्कित हुँदै बसोबास गरिरहेको स्थानीयले बताएका छन् । स्थानीय दुग्देश्वरी टोल सुधार समितिका संयोजक थर्कबहादुर थापाले वर्षाको पानी रोकिएपश्चात् क्रमश जमिन भासिन थालेको बताए ।
गत असोज–कार्तिकदेखि जान थालेको पहिरो हिजोआज तीव्र रुपमा भासिन थालेपछि स्थानीयमा त्रास सिर्जना भएको छ । जताततै जमिन भासिएको छ । घर, गोठ, पाली चर्किएर बस्न नहुने अवस्था भएको स्थानीयको गुनासो छ ।
जमिन भासिएको कारण बृखबहादुर भुजेलको ४–५ जनाको परिवार घर छाडेर अन्यत्र आफन्तकहाँ विस्थापित भएको महालक्ष्मी नगरपालिका वडा नं.४ का वडाध्यक्ष यज्ञबहादुर चापागाईंले बताए ।
जमिन भासिने र चिरा पर्ने क्रम दिन प्रतिदिन बढ्दै गएकाले स्थानीय गर्जमान भुजेल, छविलाल विश्वकर्मा, मैनाकुमारी विश्वकर्मा, पञ्चबहादुर विश्वकर्मा, हिमबहादुर भुजेल र टेकबहादुर थापाको गरी जम्मा २५–३० जनाको परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थान्तरण गर्नु पर्ने वडाध्यक्ष चापागाईंले बताए ।
छवीलाल विश्वकर्मा र गर्जमान भुजेलको घरकोभित्री बाहिरी पूरै चर्किएको, गोठ भत्किएको अवस्थामा पनि बसोबास गरिहेका छन् । मैना कुमारी र पञ्चलालको घर पनि उत्तिकै जोखिममा छ । तत्काल जोखिममा परेका ७ परिवारलाई स्थानीय प्रशासनमार्फत् चानुवा प्रहरीले आएर सर्जिमिन मुचुल्का समेत गरिसकिएको छ ।
सातै परिवारलाई तत्काल कुनै न कुनै बेला स्थान्तरण गर्नुपर्ने परिस्थिति सिर्जना भएको वडाध्यक्ष चापागाईंले जानकारी गराए ।
महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपालले स्थायी बसोवास भएको क्षेत्र अति नै जोखिम भएको, घरहरु समेत भत्किएको हुँदा तत्काल स्थान्तरण गर्न नसकिएमा मानवीय क्षति समेत हुने देखिएकाले बस्ती स्थान्तरणको लागी जिल्ला विपद् व्यवस्थापन समितिमा ७ परिवारको विवरण लेखी पठाएको बताए ।
मनसुनजन्य विपद्को कारण दुग्देश्वरी, डाँडाखर्क टोलका स्थायी बसोबास रहेका उच्च जोखिममा परेका अन्य १३ घर परिवारको पनि प्रहरी मुचुल्कासहित आवश्यक कागजात मिलाएर बस्ती स्थान्तरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गर्ने तयारी भइरहेको प्रमुख नेपालले बताए ।
महालक्ष्मी नगरपालिकाको वडा नं. २, ४, ५ र ८ पहिरो, सुख्खा पहिरो, नदी कटानका कारण जोखिममा छन् । त्यहाँका २१ घरको पनि आवश्यक विवरण संकलन गरेर जिल्ला पठाउने प्रक्रिया अघि वढाएको प्रमुख नेपालले बताए ।
जसमध्ये वडा नं.८ मा पहिरो जाँदै गरेकाले बस्तीमा समेत असर गर्ने देखिएकाले बस्ती नै स्थानान्तरण गर्नु पर्ने अवस्था छ । त्यसैगरी वडा नं. ५ मा भने अरुण नदीको कटानको कारण बस्ती नै जोखिममा परेकाले सिफारिस गर्नु परेको नगरपालिकाले जनाएको छ ।
जुनै पनि समयमा पहिरोको कारण विपद आइलाग्ने भएपछि नगर क्षेत्रको ९ वटै वडामा खुल्ला क्षेत्रको पहिचान गरिएको छ ।
विपद आइलागेको खण्डमा तत्काल व्यवस्थापनका लागि नगरका ९ वटै वडामा १–१ वटा खुल्ला क्षेत्र पहिचान गरिएको हो । जसमा महालक्ष्मी नगरपालिकाको वडा नं.१ मा पर्ने घुमाउने डाँडा, वडा नं.२ को मूलखर्क खेल मैदान, ३ नम्बर वडाका लागि थामडाँडा, ४ नम्बर वडाका लागि चानुवा डाँडा र झिझिले भन्ने स्थान तोकिएको छ ।
त्यसैगरी वडा नं.५ को लागि सालघारी, वडा नं. ६ को लागि लाटेभन्ज्याङ, वडा नं.७ को लागि जनता माविको खेल मैदान, वडा नं.८ का लागि सिद्धेश्वरी मन्दिरको आसपासको क्षेत्र र वडा नं.९ को लागि मुर्तिढुङ्गाको गणेशटार तोकिएको नगरपालिका कार्यालयले जनाएको छ ।