टीकापुर । कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् । गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका यहाँका विद्यालयमा कोरोना भाइरस सङ्क्रमण समुदायमा फैलिएपछि परीक्षा स्थगित भएका थिए । लामो समयको बन्द र विद्यालय खोल्ने वातावरण नभएपछि जिल्लाका स्थानीय तहले आन्तरिक मूल्याकङ्नबाट नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएका छन् । 

पालिकाको निर्णयपछि कैलालीका पालिकाले अब कक्षा एकदेखि नौसम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनबाट सार्वजनिक गर्न थालेका छन् । टीकापुर नगरपालिकामा बुधबार बसेको शिक्षा समितिको बैठकले विद्यालयमा लिइएका विभिन्न आन्तरिक परीक्षा, हाजिरी, गृहकार्य, अनुशासन र अतिरिक्त क्रियाकलापका आधारमा मूल्याङ्कन गर्न सकिने निर्णय गरेको छ । कोभिड १९ का कारण परीक्षा सञ्चालन गर्न नसकेपछि बुधबार बसेको नगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । 


सरकारको निर्णयानुसार आगामी असारदेखि नयाँ शैक्षिक सत्र शुरु गर्नुपर्ने भएकाले नगर शिक्षा समितिको बैठक बसी यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले जानकारी दिए । ‘‘विद्यालय सञ्चालकहरुसँग छलफल गर्दा पनि यही विकल्प भन्नुभएको छ, यस्तो बेला परीक्षा गर्न सम्भव पनि छैन’’, ठकुल्लाले भने , ‘‘नयाँ शैक्षिक सत्र शुरु हुने समयमा हामीले यही विकल्प दिएका छौँ ।’’ 


टीकापुर क्षेत्रका केही निजी विद्यालयले भने कोरोना कहरमा पनि अनलाइन कक्षा नियमित राखेका थिए । उनीहरुले अनलाइनबाट परीक्षा समेत गरे । सबै विद्यालय र विद्यार्थी अनलाइनको पहुँचमा नभएका, अझ सामुदायिक विद्यालयमा अनलाइन कक्षा सम्भव नभएकाले पालिकाले विद्यालयको सहजताका लागि यस्तो निर्णय गरिदिएको शिक्षा अधिकृत नरेश अवस्थी बताउछन् । ‘‘यहाँका विद्यार्थी अनलाइनको पहुँचमा छैनन्, त्यसैले अबको विकल्प यही हुन्छ’’, अवस्थीले भन्नुभयो, ‘‘दोस्रो त्रैमासिक परीक्षा र अन्य विभिन्न मापदण्डलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।’’

यस्तै, कैलालीको जानकी गाउँपालिकाले पनि नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएको छ । जानकी गाउँपालिका गाउँ शिक्षा समितिद्वारा कक्षा एकदेखि नौसम्मका कक्षाको नतिजा २० प्रतिशत आन्तरिक मूल्याङ्कन (उपस्थिति, गृहकार्य, अनुशासन र विविध) र ८०५ अघिल्लो परीक्षाका आधारमा गर्ने गराउने औपचारिक निर्णय भएको शिक्षा अधिकृत धर्मानन्द कपाडीले जानकारी दिए । ‘‘महामारी फैलिएपछि परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई थप तयारी गर्नुस् भनेर बिदा दियौँ’’, कपाडी भने, ‘‘महामारी नियन्त्रणमा आएको देखिएन, समुदायमा भयाभह स्थिति छ । यस्तो बेलामा परीक्षा पनि सम्भव छैन, नतिजा रोकेर काम छैन ।’’


कैलालीको लम्कीचुहाले यसअघि नै निर्णय गरी विद्यालयहरु नतिजा सार्वजनिक कार्यमा जुटिसकेका छन् । लम्कीचुहामा विद्यालयहरु अघिल्लो परीक्षा र अन्य आन्तरिक आधारमा नतिजा सार्वजनिक गर्न थालेका हुन् । लम्कीचुहा मात्र होइन कैलालीका सबैजसो पालिकाले यसरी नै नतिजा सार्वजनिक थालेका छन् । ‘‘विद्यार्थीहरु परीक्षाको तयारीमा थिए, भोलिबाट हुने भनिएको परीक्षा अघिल्लो दिन विद्यालय बन्द गर्नुपरेको थियो’’, शिक्षिका टङ्कमाया पोखरेल भन्नुहुन्छ, ‘‘नानीबाबुले पढेका छन्, परीक्षा मात्र दिन पाएनन्, यसले उनीहरुको शैक्षिक विकास र सिकाइमा असर पर्दैन । नतिजा सार्वजनिक भए बरु तनाब व्यवस्थापन हुन्छ ।’’


शिक्षिका पोखरेल अब विद्यार्थी नयाँ शैक्षिक सत्रको तयारी र माथिल्लो कक्षाका पाठ्यपुस्तक अध्ययनमा लाग्ने वातावरण अभिभावकले बनाउन आवश्यक रहेको बताउनुहुन्छ । ‘‘निषेधाज्ञा खुकुलो भए नानीबाबुका किताब उपलब्ध गराउनतर्फ ध्यान दिनुपर्छ’’, उनी भन्छन्, ‘‘फुर्सदमा रहेका बालबालिकालाई घरमा समेत पढ्ने वातावरण अभिभावकले बनाउन जरुरी छ ।’’

अभिभावकहरु कोरोना महामारीका कारण बालबालिकाको पढाई र बाल मस्तिष्कमा नकारात्मक असर परेको बताउँछन् । ‘‘भोलिबाट परीक्षा दिने भनेर तयारीमा रहेका बालबालिका अघिल्लो दिन विद्यालय बन्द भएपछि तनावमा छन् । गत वर्ष पनि राम्ररी कोर्ष पूरा गर्न पाएनन्’’, अभिभावक बन्दना जैसी भन्छन्, ‘‘अब सरकारले, विद्यालय सञ्चालकले विकल्प खोजेर बालबालिकाले नियमित अध्ययन गर्ने, रमाउने वातावरण तयार गर्न आवश्यक छ ।’’