विजयपुर। बिना कारण निष्कासन गरिएका तीन शिक्षकलाई पूवर्वत् रूपमा हाजिर गराउन श्रम तथा रोजगार कार्यालयले केके इण्टरनेसनल विद्यालयलाई निर्देशन दिएको छ । पूर्ववत् रूपमा हाजिर नगराए इजाजत–पत्र खारेज गर्ने चेतावनी दिइएको छ ।

कार्यालयले निष्कासित शिक्षकहरू निलम चौधरी, पूनमगोविन्द लाखे र सुरज बराललाई पूर्ववत् रूपमा काममा हाजिर गराउन पत्राचार गरेको हो । कार्यालयका वरिष्ठ अधिकृत प्रेमप्रसाद सञ्जेलद्वारा हस्ताक्षरित पत्रमा विद्यालयमा कार्यरत तीन शिक्षकलाई जबरजस्ती हाजिर गर्नबाट बञ्चित गरिएको विषयलाई लिएर निजी तथा संस्थागत विद्यालय शिक्षक/कर्मचारी युनियन (प्याब्सु) जिल्ला कार्यसमिति सुनसरीको पत्रअनुसार पुनः हाजिर गराउन पत्र पठाएको हो ।

पत्रमा हालको अवस्थामा  एक–अर्काको परिपूरक हुँदै लड्नुको साटो आफूमा पूर्ण रूपमा आश्रित शिक्षकलाई बिना कारण हाजिर हुन नदिएको भन्ने उजुरीका आधारमा शिक्षकलाई पुनः हाजिर गराउन पत्र पठाएको हो । कार्यालयले शिक्षकलाई जुन मितिदेखि हाजिर हुन नदिएको हो, सोही मितिदेखि पुनः हाजिर गराउन पत्रचार गरेको हो ।

शिक्षकलाई हाजिर गराई श्रम तथा रोजगार कार्यालयलाई ७ दिनभित्र लिखित जानकारी पठाउनसमेत उल्लेख गरेको छ । निष्कासित शिक्षकहरूलाई ७ दिनभित्र पूर्ववत् रूपमा हाजिर नगराए विद्यालयको बैङ्क खाता रोक्का, चल तथा अचल सम्पत्ति रोक्का र विद्यालयको इजाजत–पत्रसमेत निलम्बन गर्ने जनाएको छ ।

शिक्षकले आफूहरू ३ जनालाई बिना कारण ८ महिनाको तलबसमेत नदिई निष्कासन गरेको भन्दै शुक्रबार निजी तथा संस्थागत विद्यालय शिक्षक/कर्मचारी युनियन (प्याब्सु) लाई निवेदन दिएका थिए । उनीहरू तीनैजना २ वर्षदेखि स्कुलमा कार्यरत थिए । उनीहरूले कोरोना महामारीका बेला आफूहरूलाई जानकारीसमेत नदिई स्कुलले निष्कासित गरेकाले क्षतिपूर्ति पनि दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।

त्यसपछि प्याब्सुले ३ शिक्षकलाई न्यायको माग गर्दै अपिल पत्र जारी गरेको थियो । उनीहरूले गतवर्ष २०७७ सालको वैशाखदेखि मङ्सिरसम्मको तलब नदिई विद्यालयले आफूहरूलाई निष्कासित गरेको जनाएका छन् ।