नेपालमा सञ्चालित खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी गतिविधिमार्फत नेपाललाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन लागिपर्ने अभियानकर्मी सम्मानित भएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार विसं २०७७ का लागि नेपाल एष्ट्रोनोमिकल सोसाइटीका परियोजना संयोजक तथा निर्देशक सुश्री मनिषा द्वालाई प्रदान गरेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित कार्यक्रममा द्वालगायत विज्ञान प्रविधि क्षेत्रमा काम गर्ने अभियानकर्मीलाई पुरस्कृत गरेका छन् । सोसाइटीले खगोल विज्ञानका क्षेत्रमा रचनात्मक काम गर्दै आएको छ ।
नास्टले नेपालमा विज्ञान तथा प्रविधिको विकासमा प्रचारप्रसारको महत्व तथा भूमिकालाई मनन गर्दै यस कार्यमा संलग्न भई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सक्रिय रहेर उल्लेख्य योगदान गर्ने व्यक्ति तथा संस्थालाई विसं २०४२ देखि सम्मानित गर्दै आएको छ । नेपालमै केही गर्ने सोच भएका बहुआयामिक अवसरको खोजी तथा सृजना गर्ने युवालाई राज्यले आगामी दिनमा थप प्रोत्साहन तथा सहकार्य एवं लगानीको वातावरण निर्माण गर्ने विश्वास सोसाइटीले व्यक्त गरेको छ ।
सम्मानले नास्टलगायत देश भित्र तथा बाहिरका विभिन्न व्यक्ति, सङ्घ, संस्था (विद्यालय तथा विश्वविद्यालय) सँगको सहकार्यमा नेपालमा सञ्चालित खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी गतिविधिलाई थप ऊर्जा मिलेको महसुस गरेको सोसाइटीको अध्यक्ष सुरेश भट्टराईले बताए ।