कोभिड–१९ को कारणले रोकिँदै आएको कक्षा–१२ को परीक्षा साउनको अन्तिम साताबाट सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डको योजना छ । यसका लागि बोर्डले परीक्षा सञ्चालनसम्बन्धी सम्पूर्ण विवरणसहितको निवेदन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएको छ ।
कक्षा–१२ विद्यालय तहको अन्तिम परीक्षा भएको र बिनापरीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि बोर्डले पुरानै मोडेलबाट परीक्षा लिन लागेको हो । कक्षा–१२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै रहेको छ । विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि बाटो समेत खुल्ने भएकाले कक्षा–१२ मा परीक्षा लिनैपर्ने अवस्था रहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।
बोर्डले गएको जेठ २६ गते कक्षा–१२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक गरे पनि कोरोनाका कारण स्थगित गरेको थियो । हाल कुनै पनि विश्वविद्यालयमा स्नातक तहको भर्ना नखुलेकाले कक्षा–१२ का विद्यार्थीको धेरै समय खेर नगएको उनको भनाइ छ ।
बोर्डले यसपटक कक्षा–१२ को परीक्षा फरक मोडालिटीमा हुने जनाएको छ । गत वर्ष ४० अंकको मात्रै लिखित परीक्षा लिएर कक्षा–११ को परीक्षालाई समेत आधार मानेर कक्षा–१२ को नतिजा निकालिएको थियो । आन्तरिक मूल्यांकनलाई समेत अन्तिम परीक्षामा आधार मानिएको थियो ।

यस वर्ष कक्षा–१२ को परीक्षामा चार लाख ५० हजार विद्यार्थी सहभागी हुँदै छन् ।
कोभिड–१९ को संकट बढेपछि सरकारले गठन गरेको सीसीएमसीले सम्पूर्ण कुराको निर्णय गर्दै आएको छ ।
प्रवक्ता जंगबहादुर अर्यालका अनुसार बोर्डले सीसीएमसीलाई एक साताअघि नै निवदेन पठाइसकेको छ । ‘हामी सीसीएमसीको निर्णय कुरेर बसेका छौँ,’ उनी थप्छन्, ‘परीक्षा भौतिक रुपमै हुन्छ । हाम्रो सम्पूर्ण तयारी भइसकेको छ । अब परीक्षा गर्ने अवस्था छ÷छैन, सबै सीसीएमसीले तय गर्छ ।’
यता, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले बोर्डले निवेदन पठाएको पुष्टि गरे । उनले भने, ‘निवेदन आएको छ । त्यसमा छलफल भएको छ । सम्पूर्ण विवरण पठाउन बोर्डलाई आग्रह गरेका थियौँ । त्यो पनि पठाउनुभएको छ । अब एक÷दुई दिनभित्र निर्णय हुनेछ ।’