धरान । माध्यामिक शिक्षा परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै र्याडिकल लाइट नेपाल प्रालि धरानले ‘एसईई स्पिकर धरान सिजन–१’ को पहिलोचरणको छनोट सम्पन्न गरेको छ । 

शनिबार धरानमा सम्पन्न प्रतियोगितामा धरानका १३ वटा निजी तथा सामुदायिक विद्यालयका २० जना प्रतिस्पर्धी सहभागी बनेका थिए । पहिलो चरणको प्रतिस्पर्धाबाट १५ जना छनोट भएको प्रालिका प्रबन्ध निर्देशक हिमाल कार्कीले जानकारी दिए । 

प्रतियोगितामा सहभागीहरूलाई पत्रकार राजेश विद्रोही र प्रालिका अध्यक्ष जेपि काफ्ले छनोट गरेका थिए । दोस्रो चरणको प्रतिस्पर्धाबाट उत्कृष्ट ५ छनोट गर्दै फाइनलमा उतारिने जनाइएको छ । ‘लागूऔषध दुव्र्यसन नियन्त्रणमा विद्यार्थीको भूमिका’ विषयमा बोल्न दिइएको थियो । 

216213680_10222658884455140_2087261187990954439_n

नेपालमा लागूऔषधमा काठमाडौं पछि दोस्रो जिल्लाका रूपमा सुनसरी आउने गरेको छ । युवाहरूलाई लागूऔषधबारे जानकारी गराउने उद्देश्यले पनि विषय छनोट गरिएको आयोजकले जनाएको छ । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सञ्जयसिंह थापा, धरान १३ का वडाध्यक्ष नेत्र काफ्ले, इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरलगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियो । कोरोना महामारीका कारण पनि सीमित व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । 

प्रतियोगिता विजेताले नगद ८ हजार रूपैयाँसहित प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने छ भने फस्ट रनरअपले ५ हजार, ५० प्रतिशत छुटमा प्लस टु अध्ययन र सेकेण्ड रनरअपले ३ हजार रूपैयाँसहित २५ प्रतिशत छुटमा प्लस टु पढ्न पाउने छन् । त्यस्तै व्यक्तिगततर्फ वेष्ट पब्लिक चोइस, बेष्ट डिसिप्लिनको उपाधि दिइने छ । उनीहरूले पनि छात्रवृत्ति पाउने छन् ।