राजस्व अनुसन्धान कार्यालय इटहरीले आइतबार राति गरेको ‘स्टिङ अप्रेसन’ ले नयाँ तथ्य सार्वजनिक गरेको छ ।
भन्सारका कर्मचारीकै मिलेमतोमा लाखौं राजस्व छली हुने तथ्य सार्वजनिक भएको हो, कसरी ?


विराटनगर। राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काको नेतृत्वमा आएको टोलीले आइतबार राति १० बजे कपडा र मेसिनरी सामग्री बोकेको दुईवटा ट्याक्टर भन्सार छली गरेको आशङ्कामा विराटनगरदेखि नियन्त्रणमा लियो । राजस्वले नियन्त्रणमा लिएको को.२ त ६८११ नम्बरको कपडा बोकेको ट्याक्टरको प्रज्ञापन–पत्र बिना बेवारिसे अवस्थामा विराटनगर–१३ सैनिक टोल जाने बाटोमा प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस्तै भारतीय बीआर ५० जी ५०५३ नम्बरको ट्याक्टर पनि विराटनगरको घाँसचौकदेखि राजस्व कार्यालयले नियन्त्रणमा लियो ।

तीन महिनाअगाडि पनि विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट प्रहरीले वैशाख ११ गते साँझ ६ः३० बजेतिर एउटा भारतीय नम्बर प्लेटको ट्याक्टर नियन्त्रणमा लिएको थियो । बीआर ३८ सी २८९१ नम्बरको ट्याक्टर ‘फुड सप्लिमेण्ट’ का सामग्री लोड गरेर गन्तव्यतिर लाग्दै थियो । राजस्व छलीको सामग्री लिएर गन्तव्यतिर हिँडेको सूचनाका आधारमा चालक भारतीय नागरिक विनोद यादवसहित ट्याक्टरलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो । सोही दिन साँझ ७ बजेतिर विराटनगर–१६ रानीबाट प्रहरीले अर्को भारतीय बीआर ३८ जे ८४५४ नम्बरको ट्याक्टर नियन्त्रणमा लियो ।

हवनमा प्रयोग हुने भनेर उल्लेख गरिएका सातवटा व्यावसायिक फार्मको सामग्रीले भरिएको ट्याक्टरसहित चालक भारतीय नागरिक पप्पु यादव पक्राउ परे । हवनमा प्रयोग हुने सामग्रीका नाममा अरू नै वस्तु र प्रज्ञापन–पत्रमा उल्लेख भएभन्दा बढी सामान आयात गरिएको सूचना प्रहरीमा थियो । एकै दिन फरक–फरक स्थान र समयमा नियन्त्रणमा लिइएका ट्याक्टरलाई प्रहरीले कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो । राजस्वले अनुसन्धान थाल्दा प्रज्ञापन–पत्रमा उल्लेख भएको भन्दा बढी परिमाणको सामान र अरू नै सामग्री राखेर ल्याइएको पुष्टि भएको थियो ।

उल्लेखित प्रतिनिधिमूलक घटनाले विराटनगर भन्सार कार्यालयका  कर्मचारी, भन्सार एजेण्ट र प्रतिनिधिहरूको संस्थागत मिलेमतोमा लाखौंं रूपैयाँ राजस्व छली हुने गरेको पाइन्छ । राजस्वले आइतबार नियन्त्रणमा लिएको हार्डवेयर र कपडा बोकेको भारतीय नम्बरको ट्याक्टरको प्रज्ञापन–पत्र भए पनि भिसिटिएस नगरी पठाएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काले जानकारी दिए । सरकारले मालवस्तुको ढुवानीमा राजश्व चुवाहट रोक्न भिसीटिएस (भेहिकल, कन्साइन्मेण्ट ट्रयाकिङ सिस्टम–मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली) कार्यान्वयनमा ल्याएपनि भन्सारसँगको ‘सेटिङ’ मा सवारी तथा मालवस्तुको बिना प्रविष्ट नै भन्सार जाँचपास हुने गरेको पाइएको छ ।

‘ढुवानी व्यवसायलाई प्रणालीबाटै अनुगमन गरेर पारदर्शिता कायम गर्न भिसिटिएस लागू भएको हो’ राजस्व अनुसन्धानका प्रमुख खड्काले भने, ‘तर, भन्सार हुँदै निस्किएर हामीले बरामद गरेको सामानको भिसिटिएस पनि गरेको भेटिएन ।’ भन्सार बिन्दुमा न्यून मूल्याङ्कनमा जाँचपास गरिएको कपडा, मिलमेशिनरी, पाइपसमेत रहेका दुईवटा गाडीकै विवरण भिसिटीएसमा नभेटिएपछि विराटनगर भन्सार कार्यालयको कार्यशैलीप्रति प्रश्न उब्जिएको हो ।

‘राजस्व छली गरिएको आशङ्कामा अहिले भौतिक रूपमा मालवस्तुको गणना भइरहेको छ’–खडकाले भने । उनका अनुसार भारतीय नम्बरप्लेटको बीआर ५० जी ५०५३ र को.१ त ६८११ नम्बरको ट्याक्टर भन्सार बिन्दुमा जाँचपासपछि छुटेको थियो । त्यस क्रममा भन्सार कार्यालयबाट मुख्य राजमार्गसम्म आउने आईसीपी सडक–खण्डमा गाडी नियन्त्रणमा परेको थियो ।

सामानमा प्रतिइकाई मूल्य स्पष्ट भए पनि भन्सार कार्यालयले १ सय रुपैयाँको मूल्याङ्कनमा मात्रै कपडा छोडेको पाइएको छ । दुईवटा ट्याक्टरमध्ये एउटाको मात्रै प्रज्ञापन–पत्रमा सामान लेखिएको थियो । कपडा भनेर न्यून भन्सार जाँचपासमा गरिएको ट्याक्टरभित्र कपडाले छोपेर मेसिनरी आइटम, पाइप आइटम रहेको राजश्व अनुसन्धान कार्यालयले जनाएको छ । भारतीय कम्पनीका कपडामा ३ सय ७९, ४ सय ५० र ५ सय ९९ रुपैयाँ मूल्य अङ्कित स्टिकर टाँसिए पनि एकसय रुपैयाँ मात्रै मूल्याङ्कन गरिएको पाइएको छ ।

राजस्वले नियन्त्रणमा लिएका दुई ट्याक्टरको कपडा र मेसिनरी उपकरणको सामग्री एजेण्ट प्रतिनिधि विराटनगरका अक्बर अलीले आयात गरेको खुलेको छ । अली भन्सार एजेण्ट भरतराज भट्टराईका प्रतिनिधि हुन् । सेटिङ मिलाउन माहिर अलीले भन्सार एजेण्ट भट्टराईलाई प्रयोग गरेको बुझिएको छ । अलीले विगत लामो समयदेखि सबै क्षेत्रका अधिकारीहरूलाई नजराना थमाएर दैनिक निकै ठूलो परिमाणमा भन्सारमा न्यून विजकीकरण गरिएका र भन्सार छलिएका सामान नक्कली प्रज्ञापन–पत्रको भरमा पूर्वका विभिन्न सहर हुँदै काठमाडौंसम्म पु¥याउने गरेको स्रोतको भनाइ छ । एजेण्ट प्रतिनिधि अलीको ‘अली ट्रेडर्स’ रहेको छ ।

उक्त टे«डर्सको नामबाट राजस्व छली गरेका सामग्रीहरू काठमाडौंका व्यापारी नसिम खानलाई पठाउने गरेको स्रोतको दाबी छ । उनले आइतबार भिœयाएको दुई ट्याक्टर सामग्री ४० लाखको रहेको बुझिएको छ । अलीले आयात गरेको दुई ट्याक्टर सामानको भन्सार बिन्दुमा १ लाख २२ हजार रुपैयाँ मात्रै महसुल बुझाइएको छ । जब कि ४० लाख मूल्य बराबर सामग्रीको २० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट गरेर अलीले १३ लाख २० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

तर, भन्सारका प्रमुखदेखि अधिकृत र तल्लो तहका कर्मचारीसम्मलाई सेटिङ मिलाउन माहिर अलीले १२ लाख रूपैयाँ राज्यको राजस्व छली गरेको आशङ्का गरिएको छ । यस विषयमा राजस्वले अहिले गहन अनुसन्धान थालेको छ । राजश्वले नियोजित रूपमा भन्सार प्रशासनको समेत संलग्नतामा सामान भिœयाइएको आशङ्का गरेको छ । यसरी लाखौं रूपैयाँ राजस्व चुहावट भएको खुलेपछि विराटनगर भन्सार प्रमुख शिव प्रसाद भण्डारी विवादमा मुछिएका छन् । भन्सार प्रमुख भण्डारीले संलग्नता पुष्टि भएको अवस्थामा कर्मचारीको छानबिन गरिने दाबी गरेका छन् ।

राजस्व छली एवम् तस्करीमा विराटनगर भन्सार कार्यालयका कर्मचारी, एजेण्ट र एजेण्टका प्रतिनिधिबीचको खतरनाक ‘सेटिङ’ बाहिरिएको छ । यसअघि पनि एउटै बिलविजकमा दोहोरो मालवस्तु भिœयाउने र सामानको न्यून मूल्याङ्कन गर्ने गरिएको पनि फेला परेको थियो । यसअघि समेत अलीले भन्सार छलेर भण्डारण गरिएको दशलाख बराबरको कपडा नेपाल प्रहरीले गोदामबाटै बरामद गरेको थियो ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले ठूला कार्यालयमा कहीँकतै मिलेमतो हुने गरेको र त्यस्ता गलत क्रियाकलापलाई सच्याउँदै जाने बताए । उनले न्यून भन्सार राजश्व असुलीसँग कम मूल्याङ्कनको एउटा घटनालाई जोड्न नमिल्ने बताए । ‘यत्रो राजस्व सङ्कलन गर्ने अड्डा हो, कर्मचारीले जानेर वा नजानेर घटना घट्ने गर्छन्, ती घटनाबाट पाठ सिकेर त्यस्ता घटना दोहोरिन दिनु हुँदैन भन्नेतर्फ भन्सार कार्यालय क्रियाशील छ’–उनले भने ।
pakrau 3

राजस्व छली र चोरीले लक्ष्य भेट्न कठिन
विराटनगर/कुनै समयमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्ने विराटनगर भन्सार कार्यालयले आर्थिक वर्षमा लक्ष्य भेट्न मुस्किल परेको छ । पछिल्लो समय हुने गरेको भन्सार छली र चोरी–पैठारीका क्रियाकलाप बढ्दै जाँदा विराटनगर भन्सार कार्यालयमा राजस्व असुलीमा गिरावट आएको हो ।

भन्सार कर्मचारी र एजेण्टकै मिलेमतोमा दैनिकजसो भन्सार छली हुन थालेपछि विराटनगर भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व असुली गर्न सकेको छैन ।

आर्थिक वर्ष ०७७/७८ मा राजस्व असुलीमा १२ प्रतिशत गिरावट आएको छ । आर्थिक वर्षमा भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व लक्ष्य तोकेको थियो ।

तर, आर्थिक वर्षमा जम्मा ४० अर्ब ८१ करोड ९० हजार १३ रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको छ । भन्सारले साउन, भदौ, मङ्सिर, पुस र चैत महिनाबाहेक अन्य कुनै महिनामा पनि राजस्व लक्ष्य पूरा गर्न सकेको छैन ।

असोजमा ३ अर्ब ४० करोड ५ लाख ४९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ३ अर्ब ३४ करोड ७ लाख १४ हजार, कात्तिक महिनामा ३ अर्ब ६६ करोड ७ लाख ६८ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएकोमा ३ अर्ब ४० करोड  ६ लाख ९५ हजार, माघमा ४ अर्ब ७५ करोड ८३ लाख ६३ हजार रुपैयाँ लक्ष्य लिएकोमा ३ अर्ब ८० करोड ९४ लाख ४० हजार  रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ ।

यस्तै फागुनमा ४ अर्ब ७४ करोड ४० लाख ६८ हजार  रुपैयाँको लक्ष्यमा ४ अर्ब ११ करोड ५१ लाख ९२ हजार,  वैशाखमा ५ अर्ब ४९ करोड २६ लाख २७ हजार लक्ष्यमध्ये ३ अर्ब ५२ करोड ७८ लाख ४ हजार रुपैयाँ राजस्व असुली गरेको छ । यस्तै जेठमा ५ अर्ब ४९ करोड ९० लाख ७२ हजार लक्ष्य लिएकोमा ३ अर्ब २७ करोड ९१ लाख ३२ हजार रुपैयाँ र असारमा ४ अर्ब २५ करोड ३६ लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ३ अर्ब ७२ करोड ३३ लाख ३५ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ ।

भन्सार छलीका समाचार दैनिकजसो बाहिर आइरहे पनि राजस्व छली रोक्नेतर्फ जिम्मेवार निकाय नै मौन बस्दा मिलेमतोमा सामान पास हुने क्रम रोकिएको छैन । जसको प्रभाव राजस्व सङ्कलनमा परेको छ ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले कोरोना सङ्क्रमणको बेला लकडाउनको कारणले गर्दा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको बताए ।