विजयपुर / पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरूले आयोजना गरेको राष्ट्रिय स्तरको अनलाइन प्राविधिक महोत्सव सुरु भएको छ ।
महोत्सव बुधबार अनलाइनबाटै उद्घाटन गरिएको छ । महोत्सव फेसबुक पेज र वेबसाइटबाट प्रदर्शन गरिने आयोजकले जनाएको छ । ३ दिनसम्म सञ्चालन हुने महोत्सवमा थ्रिडी मोडलिङ प्रतिस्पर्धा, कम्प्युटर कोडिङ प्रतिस्पर्धा ‘कोडाथन’, म्याटल्याव सफ्टवेयरबाट मोडलबेस्ड डिजाइनिङ प्रतियोगिता र अन्तरकलेज प्रस्तुति प्रतिस्पर्धा रहेको छ ।
महोत्सवमा सहभागी प्रथम, द्वितीय र तृतीयले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार र प्रमाण–पत्र पाउनेछन् । साथै दराजको तर्फबाट आकर्षक उपहार पाउनेछन् । तर, इन्स्टाग्राम फोटोग्राफी प्रतिस्पर्धाको भने प्रथम र द्वितीय हुनेले मात्रै पुरस्कार पाउने जनाइएको छ ।
फोटोग्राफीको प्रथम पुरस्कार १० हजार र द्वितीय पुरस्कार ५ हजार रहेको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न विधामा करिब १ हजार जनाको सहभागिता रहेको कार्यक्रमका सह–संयोजक सुदिवभाइ सुवेदीले जानकारी दिए ।
महोत्सवको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले गरे । उनले नेपालमा इञ्जिनियरको आवश्यकता रहेको बताउँदै अध्ययनका लागि अन्य मुलुक गए पनि काम गर्न आफ्नै देशमा गर्न जोड दिए । कार्यक्रममा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, इञ्जिनियरिङ एसोसिएसन नेपाल प्रदेश १ का अध्यक्ष यसवन्त साह, कृषि मन्त्रालयका उपसचिव जित चन्द, पूर्वाञ्चल क्याम्पस प्रमुख ओमप्रकाश ढकाललगायतको उपस्थिति रहेको थियो ।
डेल्टा २.० ले नाम दिएको महोत्सवको पूर्वाञ्चल क्याम्पसका ७ इञ्जिनियरिङ विभागका विद्यार्थी समाजले आयोजना गरेको हो । महोत्सव ८ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवको समापन तथा पुरस्कार वितरण ९ गते गरिने कार्यक्रमका सह–संयोजक सुवेदीले जानकारी दिए । महोत्सवको पहिलो संस्करण भौतिक रूपमा गरिएको थियो भने कोरोना भाइरसका कारणले अनलाइनमाध्यमबाट गरिएको हो ।