विराटनगर(ब्लाष्ट)  विराटनगर – ५ बिजुली अपिस अगाडी मोटसाइकल माथि मृत भेटिएका विराटनगर – ४ मुनालपथका ६७ वर्षिय सुदर्शन शर्मा न्यौपानेको ट्रकको ठक्करदेखि मृत्यु भएको खुलेपछि आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । 

मोरङ प्रहरीले दुर्घटना भएको पाँच दिनपछि ठक्कर दिने ट्रक चालक सुनसरी धरान उप–महानगरपालिका २० देवीगाउँका २८ वर्षिय रामशरण राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई मोरङ प्रहरीले पक्राउ गरेको चारदिनपछि  आइतबार सार्वजानिक गरेको  छ । 

४ साउनमा राईले चलाएको को १ क १३३३ नम्बरको ट्रकले बिजुली अपिस अगाडी को ४ प २३१६ नं। को मोटसाइकललाई ठक्कर दिएको थियो ।

मोटसाइकलमा सवार न्यौपानेलाई ट्रकले ठक्कर दिएपछि चालक फरार भएका थिए । फरार भएका चालकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

न्यौपानेलाई ठक्कर दिने ट्रकले त्यसबेलामा कोइला बोकेर आएको थियो । उक्त कोइला धनकुटाको सिधवा पु¥याउनुपर्ने थियो । ट्रकले ठक्कर दिएपछि मोटसाइकलमा सवार न्यौपाने लडेका थिए ।

स्थानियले देखेपछि उनलाई उठाएर मोटसाइकमा राखिदिएका थिए । मोटसाइकल हाकेर आफै जानसक्ने न्यौपानेले त्यसबेलामा बताएका थिए । मोटसाइकलमा चढेपछि उनको मृत्यु भएको हुनसक्ने घटनामा अनुसन्धान संलग्न प्रहरीका अधिकारीहरूले बताएका छन् । 

दाँया हात, खुट्टा र आँखापनि चोटपटक देखिएको न्यौपाने मृत अवस्थामा भेटिएको दिन परिवारले दुर्घटना गराएपछि शव मोटसाइकलमा राखिदिएकोले प्रहरी प्रशासन गहन अनुसन्धान गरि दोषीलाई कारवाहीको दायारमा ल्याउनुपर्ने माग राख्दै आएका थिए ।

प्रत्यक्षदर्शी, सिसी टिभी फुटेजको आधारमा ट्रक चालक राईलाई प्रहरीले विराटनगर १५ राधाकृष्ण राई मिल अगाडीदेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका चालक राईलाई मोरङ प्रहरीले आइतबार सवारी ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।