ताप्लेजुङ्को पर्यटन प्रवद्र्धनका लागि प्रचार प्रसार गर्ने उद्देश्यले ‘ताप्लेजुङ १०१ फोटो’ नामक टेवल बुक प्रकाशन गरिएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा ताप्लेजुङ विकास पत्रकार मञ्चले जिल्लाभित्रका विभिन्न स्थानको अनलाइनमार्फत प्राप्त एक हजारभन्दा बढी फोटोमध्ये उत्कृष्ट छनौटमा परेका १०१ फोटो प्रकाशन गरेको हो ।

फोटोमा जिल्लामा रहेका पर्यटकीयस्थल, बस्ती, गाउँ शहर, प्राकृतिक, सांस्कृतिक धार्मिकस्थल, सम्पदा, वनस्पति, पशुपक्षी, ऐतिहासिक महत्वका स्थल र पौराणिक वस्तु समेटिएको छ ।

ताप्लेजुङ १०१ फोटो सार्वजनिक गर्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यसले जिल्लाको पहिचानका साथै पर्यटन विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

उनले प्राकृतिक सौन्दर्यता, जातीय र सांस्कृतिक विविधतायुक्त जिल्लाको अथाह पर्यटकीय सम्भावनालाई उजार गरी पर्यटक आकर्षण गर्न जरुरी रहेको उल्लेख गरे । 

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले ताप्लेजुङको समग्र पर्यटन विकासका लागि प्रचारप्रसार गरिनुपर्ने खाँचो औंल्याए । 

छनौट भएका फोटोमध्ये सर्वोत्कृष्ट फोटोलाई नगद रु २५ हजार प्रदान गरिने मञ्चका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।