विराटनगर/ विराटनगरका जग्गा कारोबारी रमेश यादवको दोहोरा नागरिकता रहेको खुलेको छ ।
विराटनगर ८ मधुमारामा बस्दै आएका यादवको नेपाल र भारत दुवै देशको नागरिकता बनाएको पाइएको हो ।
दोहोरो नागरिकता बनाएका यादवले जग्गाको कारोबार गर्नुको साथै विराटनगरमा व्यापार क्षेत्रमा पनि लगानी गर्दै आएका छन् । उनले २०६३ साल चैत २८ गते नेपाली नागरिकता बनाएको पाइएको छ । साविकको विराटनगर २२ वडा खुलाएको यादवको टोली आएको बेलामा नागरिकता बनाएका छन् । तर, यादवले २ लाख रूपैयाँमा तीन वर्ष अगाडि बनाएको भन्दै हिंड्ने गरेका छन् ।
उनको नेपाली नागरिकता नम्बर ०५३०८७÷२२१ रहेको छ । जगदिव यादव बाबु रहेको रमेशको भारतीय मतदाता परिचय–पत्र एमएफभी ५६५७२३४ रहेको छ । सन् २००५ जुन ६ तारिखमा यादवले बनाएको भारतीय मतदाता परिचय–पत्र अनुसार निर्वाचनमा फारबिसगंजमा निर्वाचन केन्द्र उल्लेख छ ।

दोहोरो नागरिकता बनाएको खुलेपछि यादव विरूद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी पनि परेको छ । जिप्रका मोरङमा अनुसन्धान र दोहोरा नागरिकता धारी यादवलाई कारबाहीको माग राख्दै प्रमाणसहित उजुरी परेको बुझिएको छ ।
दोहोरा नागरिकता लिएको विषयमा यादवसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
यता मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता शरदकुमार पोखरेलले गलत प्रक्रियाबाट कसैले पनि नागरिकता लिनु गैरकानुनी भएकाले यदी कसैले लिएको पुष्टि भए कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए ।
‘कसैले पनि गलत तरिकाबाट नागरिकता लिनु हुँदैन,’ उनले भने, ‘यदि लिएको भए नागरिकता ऐनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ । उजुरी आएको रहेछ भने हामी अनुसन्धान थाल्नेछौं र कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं ।’
यादवको हकमा अहिलेसम्म उजुरी परेको आफूलाई जानकारी नभएको उनले बताए ।