चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ ।

यसै महिनाको सुरुमा एक विद्यार्थीले दुई वर्षअघि आफू १७ वर्षको हुँदा चिनियाँ–क्यानडेली अभिनेता तथा गायकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

त्यसपछि कम्तीमा दुई दर्जन महिलाहरूले वुमाथि अनुपयुक्त व्यवहार गरिएको आरोप लगाएका छन् ।

वुले सबै आरोप अस्वीकार गरेका छन् ।

उक्त समाचार चिनियाँ सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशित भएको र त्यसले यौनमा सहमतिको विषयमा बहस निम्त्याइरहेको छ ।

एक दर्जन विश्व प्रतिष्ठित ब्रान्डहरूले घटनापछि वुसँग आफ्नो व्यापारिका सम्झौता अन्त्य गरेका छन् ।

नाबालिगसँग सम्बन्ध राखेको आरोप

पहिलो पटक आरोप लगाउने १९ वर्षीया विद्यार्थीले सामाजिक सञ्जालमा वुको घरमा आयोजित पार्टीमा आफूलाई बोलाइएको बताएकी छन् ।

उनले आफूलाई मदिरा सेवन गर्न दबाव दिइएको र बिहान उठ्दा वुको ओछ्यानमा आफूलाई पाएको जनाएकी छन् ।

उनले रोजगारी र अरू अवसरहरू उपलब्ध गराउने वाचा गरेर वुले आफूलाई सम्बन्ध राख्न बाध्य पारेको सात जना अरू महिलाले बताएको उल्लेख गरेकी छन् ।

तीमध्ये कतिपय उमेर नपुगेका किशोरी रहेको उनले बताइन् ।

आरोप अस्वीकार

वुले ती १९ वर्षीया युवतीलाई मदिरा सेवन गराएको अस्वीकार गरेका छन् ।

उनले लोभ देखाएर यौन सम्बन्ध राखेको, अर्धचेत युवतीलाई बलात्कार गरेको र नाबालिगसँग सम्बन्ध राखेको अस्वीकार गरेका छन् ।

चिनियाँ कानुनमा १८ वर्षभन्दा कम उमेरकालाई नाबालिग ठहर गरिएको छ तर यौनका लागि सहमति दिन सक्ने उमेर १४ वर्ष भनिएको छ ।

‘त्यहाँ त्यस्तो यौन सम्बन्ध थिएन । त्यहाँ नाबालिका थिएनन्,’ आफूविरुद्ध आरोप लगाइएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘यदि त्यस्तो भएको भए कृपया तपाईँहरू सबै शान्त रहनूस् म आफूलाई जेलमा पठाउने छु ।’

उनका वकिलहरूले आरोप लगाउने युवतीमाथि मानहानिको अभियोग लगाउने तयारी गरेका छन् ।

यो घटना सन् २०१८ को मी टू अभियानका कारण चीनमा यौन हिंसासम्बन्धी चेतना बढ्दै जाँदा बाहिर आएको हो ।

त्यस बेला कैयौँ महिलाहरूले चर्चित व्यक्तिहरूको यौन दुर्व्यवहारबाट पीडित भएको भन्दै मुख खोलेका थिए ।

सुरुमा वु केटाहरू सम्मिलित के पप समूह इएक्सओको सदस्यका रूपमा चर्चामा आएका थिए ।

सन् २०१४ मा उनले सफल एकल गायन, अभिनय, मोडलिङ र ट्यालेन्ट सोको निर्णायक बन्न उक्त ब्यान्ड छाडेका थिए । बीबीसी