विराटनगर । प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने गिरोह प्रदेश १ को पहाडी जिल्लामा सक्रिय रहेको पाइएको छ । उनीहरूले गाउँको सर्वसाधारणलाई प्रहरीमा भर्ती गराइदिने भन्दै लाखौं रुपैयाँ असुल्ने गरेका छन् ।
दुई लाख रुपैयाँसम्म लिएर प्रहरी जवान पदको परीक्षामा सहभागी बन्ने आधा दर्जन नक्कली परीक्षार्थीलाई १ नंं. प्रदेश प्रहरी तालिम केन्द्रले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा भोजपुर पौवादुम्मा गाउँपालिका–६ का २३ वर्षीय सूर्य राई, सोही ठाउँका १९ वर्षीय सागर राई, २२ वर्षीय सङ्गम राई, धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय सरोज राई, २७ वर्षीय राजकुमार राई र सहिदभूमि गाउँपालिका–३ का २१ वर्षीय खपाङ राई रहेका छन् । पक्राउ परेका प्रतिवादीले १ लाखदेखि २ लाख रूपैयाँसम्म लिएर नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको खुलेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा भोजपुर पौवादुम्मा गाउँपालिका–६ का सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराइदिन्छु भनी सोही ठाउँका सङ्गम राईबाट नगद १ लाख १८ हजार लिएको खुलेको डिएसपी श्रेष्ठले बताए । यस्तै भोजपुर पौवादुम्मा गाउँपालिका–६ का सागर राईबाट नगद १ लाख १८ हजार, धनकुटा साँगुरीगढी गाउँपालिका–८ का सरोज राईबाट नगद २ लाख लिएको खुल्न आएको डिएसपी श्रेष्ठले बताए ।

परीक्षामा सहभागी बनेका नक्कली परीक्षार्थीसहित ६ जनालाई अन्तरवार्ताका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उपस्थित भएर अरूकै नाममा परीक्षा दिँदै गरेका र प्रहरीको जागिर खान नक्कली परीक्षार्थीको सहारा लिएका थिए । उनका अनुसार प्रहरीमा जागिर लगाइदिने भनेर पैसा असुलेका सूर्य आफै परीक्षार्थी बनेर अन्तरवार्तामा सहभागी बनेका थिए ।
उनले खपाङसँग भने पैसा लिन बाँकी रहेको पनि पाइएको छ । प्रहरीमा जागिर लगाइदिने र परीक्षार्थी तयार पार्ने काम राजकुमारले गरेको डीएसपी श्रेष्ठले बताए । ‘पक्राउ परेका गिरोहले अन्यलाई पनि ठगी गरेको हुन सक्दछ । त्यसमा पनि केन्द्रित रहेर हामीले अनुसन्धान सुरु गरेका छौं’–डिएसपी श्रेष्ठले भने ।
ठगी गर्ने गिरोहलाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरले पक्राउ गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ । मोरङ प्रहरीले पक्राउ परेका प्रतिवादीहरूलाई शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिए ।