जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ ।
अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल भएको हो ।
चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कास्य पदक प्राप्त गरेको छ ।
अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले ३१ स्वर्ण, ३५ रजत र ३० कास्य पदक प्राप्त गरेको छ भने जापानले २३ स्वर्ण, १० रजत र १५ कास्य प्राप्त गर्न सफल भएको छ ।
रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौंथो स्थानमा उक्लिएको छ । उसले १७ स्वर्ण, २३ रजत र २२ कास्य पदक प्राप्त गरेको छ । बेलायत १७ स्वर्ण, १८ रजत र १८ कास्य पदकसहित पाँचौँ स्थानमा छ ।
यसैगरी अस्ट्रलिया १७ स्वर्ण, छ रजत र २० कास्य पदक प्राप्त गर्दै छैटौँ स्थानमा छ ।
जर्मनी नौ स्वर्ण, १० रजत र १६ कास्यसहित सातौँ, इटली आठ स्वर्ण, १० रजत र १८ कास्यका साथ आठौँँ, फ्रान्स सात स्वर्ण, ११ रजत र नौ कास्य जित्दै नवौँ तथा नेदरल्याण्डस् सात स्वर्ण, नौ रजत र ११ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ ।
टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८८ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ आफ्नो खेलमा प्रतिस्पर्धा गरेका थिए । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन् ।