यसअघि पूर्वप्रधानमन्त्री राजीव गान्धीको नामबाट राखिएको ‘राजिब गान्धी खेल रत्न पुरस्कार अब मेजर ध्यान चन्द खेल रत्न पुरस्कारले चिनिने भएको छ ।
‘खेल रत्न पुरस्कार’ लाई मेजर ध्यानचन्द खेल रत्न पुरस्कारमा रूपान्तरण गरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार घोषणा गरेका छन् ।
पुरस्कारबारे ट्वीटरमा प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘मलाई भारतभरका नागरिकबाट मेजर धयान चन्दको नाममा ‘खेल रत्न पुरस्कार’ नाम घोषणा गर्न धेरै अनुरोधहरू आएका छन् । उनीहरूको खेलप्रतिको माया र उचित दृष्टिकोणको लागि म सबैलार्ई धन्यवाद दिन चाहन्छु ।’
‘खेलप्रेमी सबै भारतीयको भावनालाई सम्मान गर्दै खेल रत्न पुरस्कारलाई अबदेखि मेजर ध्यान चन्द खेल रत्न पुरस्कार भनिनेछ,’ सन्देशमा भनिएको छ ।
उनले थपे, ‘मेजर ध्यानचन्द भारतका लागि सम्मान र गौरव ल्याउने भारतका अग्रज खेलाडीमध्ये एक थिए । त्यसैले हाम्रो राष्ट्रको सबैभन्दा उच्च सम्मान उनकै नामले चिनिनु उपयुक्त छ ।’
ओलम्पिक खेलमा ४१ वर्षपछि भारतीय पुरुष हक्की टोलीले काँस्य पदक जितेको एक दिनपछि यस्तो निर्णय आएको हो । ध्यान चन्द आफ्नो जादुयी हक्की खेल कौशलका लागि प्रसिद्ध हक्की खेलाडी थिए ।
उनी सन् १९२८, १९३२ र १९३६ को ओलम्पिकमा स्वर्ण पदक दिलाउने भारतीय हक्की टोलीका सदस्य थिए । भारतले प्रसिद्ध हक्की खेलाडी ध्यान चन्दको जन्म जयन्तीको उपलक्ष्यमा अगस्ट २९ लाई राष्ट्रिय खेलकुद दिवसका रूपमा मनाउने गरेको छ ।