उदयपुरगढी गाउँपालिका ७ अधेरीमा रोकी राखेको टेम्पोमा सखुवाको रुख ढलेर किच्दा टेम्पुमा बसेकी एक जना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । तीन जना घाइँते भएका छन् ।
मृत्यु हुनेमा कटारी नगरपालिका ४ की ३८ वर्षीय निशा दनुवार रहेकी छन् ।
हिजो दिउँसो ३ बजे उनी आफ्नै श्रीमान् श्याम दनुवारसँग मोटरसाइकल चढी अधेरी झरना घुम्न गएकाे प्रहरीले जनाएकाे छ ।
सोही क्रममा उनी त्यही ठाँउमा रोकी राखेको प्र २–०१–००१ ह ०५६० नम्बरको टेम्पोमा गएर बसेका बेला रुख ढलेर टेम्पुलाई किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीकाे भनाइ छ।
उक्त रूखले टेम्पु नजिकै रहेका कटारी ४ की २७ वर्षीय मिना दनुवार, कटारी ५ का टेम्पु चालक ४८ वर्षीय कुमार तामाङ र मृतककै श्रीमान् समेत घाइँते भएका थिए ।
घाइँते मध्ये मिना र कुमारको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएकाे छ । मृतकका श्रीमान् श्यामको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटिगई थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाएको छ ।