जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप  आइपुगेको छ । 

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए ।

जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो ।

जापानबाटै शनिबार पाँच लाखमात्रा खोप आएको थियो । बाँकी खोप एक सातापछि  आउने मन्त्रालयले जनाएको छ । 

यसअघि शुक्रबार भुटानबाट  दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो ।

जापानबाट प्राप्त खोप  पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ । 

हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप स्वदेश आइपुगेको छ ।

नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ ।

चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ ।

भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन । 

यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ ।

चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ ।

यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको छ ।

खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै सङ्क्रमण फैलनसक्ने देखिएपछि सरकारले एक हजार ४३३ खोप केन्द्र थप गरेको हो ।

पहिले दुई हजार ९८९ खोप केन्द्र भएकामा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पु¥याइएको छ ।

काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पु¥याइएको छ ।