करातेका पूर्वप्रशिक्षक किशोर हमालको निधन भएको छ । उनको ६२ वर्षको उमेरमा ललितपुरको अल्का अस्पतालमा गएराति निधन भएको हो ।
लामो समय पेटसम्बन्धी रोगबाट पीडित हमाल केही दिन अघि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । शुरुआतमा उनको वीर अस्पतालमा उपचार गरिएको थियो । उच्च ज्वरोबाट पीडित हमाललाई दुई दिनअघि अल्का अस्पताल भर्ना गरिएको उनका श्रीमती एवं कराते सहायक प्रशिक्षक राधिका हमालले जानकारी दिए ।
कैलालीको धनगढी स्थायी घर भएका हमाल सुदूरपश्चिममा करातेको संस्थापकका रुपमा चिनिन्छन् । उनले सुदूरपश्चिमको नौवटै जिल्लामा कराते खेलको विस्तार गरेका थिए । करातेका सुदूरपश्चिम क्षेत्रका प्रमुख प्रशिक्षक विमल खडायतका अनुसार हमालले २०४८ सालदेखि झण्डै एक दशकसम्म कैलाली, कञ्चनपुर, अछाम, डोटीलगायत जिल्लामा कराते खेलाडी उत्पादन गरेका थिए । ‘सुदूरपश्चिममा कार्यरत सबै प्रशिक्षक उनकै उत्पादन छन्, प्रशिक्षक खडायतले भने, ‘सुदूरपश्चिममा करातेको जग हल्ने काम नै उनले गरेका थिए ।’
हमालले सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । उनी आफ्नो समयमा करातेको अब्बल खेलाडीका रुपमा चिनिन थिए । हमालको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।