विराटनगर । सोमबार मध्यरात, विराटनगरस्थित कोसी अस्पताल चकमन्न छ । त्यही बीचमा एक व्यक्ति अस्पतालको प्रसूति वार्डमा प्रवेश गर्न खोज्छन् । नौलो अनुहार लागेपछि सुरक्षाले गार्ड रोक्न प्रयास गर्छन्–‘तपाईं कता जान लाग्नुभएको ?’ ती युवा आफू ‘डाक्टर’ भएको बताउँदै बिरामी जाँचका लागि हिँडेको भनी जवाफ दिन्छन् ।

डाक्टर भनेपछि सुरक्षा गार्डले रोकटोक गर्दैनन् । सुरक्षागार्डका अनुसार त्यसपछि उनी प्रसूति वार्डमा सिधै गएर बिरामीका स्वास्थ्य परीक्षण गर्न थाल्छन् । ‘अन्य बेला सधँै चिकित्सकको हातमा पञ्जा हुने गरेको थियो । डाक्टर भन्ने व्यक्तिले स्वास्थ्य मापदण्ड पनि ख्याल नगरी तीनजना बिरामी परीक्षण गर्न थालेपछि भने बिरामीले शङ्का गरे ।प्रसूति वार्डमा होहल्ला भयो’–सुरक्षागार्ड भन्छन् । त्यसपछि कथित डाक्टर विराटनगर–६ सरौचियाका अमृत बानियाँ पक्राउ परे । पक्राउ परेका बानियाँलाई ‘अभद्र व्यवहारको मुद्दा’ दर्ता गरी म्याद थप गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

‘मदिरा सेवन गरेपछि नक्कली डाक्टर बनेर बिरामीको स्वास्थ्य जाँच गरेको पाइएको छ’ डिएसपी श्रेष्ठले भने, ‘पक्राउ परेका बानियाँलाई म्याद थप गरी अनुसन्धान सुरु गरेका छौं ।’

कोसी अस्पतालले पनि कथित डाक्टर बानियाँलाई आवश्यक कारबाहीका लागि मोरङ प्रहरीमा पत्र पठाएको मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘मध्यराति अस्पतालमा आएर नक्कली डाक्टरको भेषमा अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको रहेछ’ मेसु दासले भने, ‘आवश्यक कारबाहीका लागि मोरङ प्रहरीमा पत्र पठाएका छौं ।’

पक्राउ परेका बानियाँले प्रसूति वार्डको वेटिङ रुममा पुगेर बिरामीका संवेदनशील अङ्गमा पनि छोएको आरोप छ । यसअगि पनि नक्कली डाक्टरको भेषमा कोसीमा बिरामी परीक्षण गर्दा एकजना पक्राउ परेका थिए ।

अस्पताल सुरक्षा व्यवस्था फितलो रहँदा बेलाबेला कोसी अस्पतालमा यस्ता गतिविधिहरू हुने गरेका छन् । अस्पताल प्रशासनले अस्पतालभित्र सुरक्षा गार्ड व्यवस्थित गर्न नसक्दा बिरामीहरूमाथि अभद्र व्यवहार हुने गरेको कार्यरत चिकित्सकहरू बताउँछन् ।