धरान । सप्तकोशी नदीस्थित कोशी ब्यारेजबाट नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने ६ जनालाई सुनसरी प्रहरीले उद्धार गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार र साउन महिनामा ६ जना पुरुष र महिलाले आत्महत्याको प्रयास गरेका थिए । उक्त प्रयासलाई प्रहरीको टोलीले असफल बनाएको हो । जिप्रका सुनसरीका अनुसार असार १ गते सुनसरी गढी गाउँपालिका ६ का ७८ वर्षीय यादव थरका वृद्धको उद्धार गरी आफन्तलाई बुझाइएको छ । 

त्यस्तै असार २१ ग्ते मोरङ विराटनगर महानगरपालिका १० का ५५ वर्षीया अधिकारी थरकी महिला, साउन ४ गते विराटनगर–३ की ३५ वर्षीया सापकोटा भट्टराई थरकी महिला, साउन २० गते भारत मधुवनी जयनगर चित्रगुप्तकोलोनीका २५ वर्षीय ठाकुर थरका युवा, साउन २४ गते सुनसरी इटहरी उपमहानगर–६ का ६५ वर्षीया पोखरेल थरकी महिला र काभ्रेपलाञ्चोक–१३ का ४० वर्षीया सापकोटा थरकी महिलाले आत्महत्याको प्रयास गरेका थिए । 

आत्महत्याको प्रयास गरिरहेको अवस्थामा प्रहरी चौकी कोशी ब्यारेजको टोलीले नदीबाट उद्धार गरी आफन्तलाई जिम्मा लगाएको छ ।