विराटनगर । मोरङमा प्रत्येक वर्ष बहुविवाहको घटना बढ्दै गएको पाइएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा मोरङमा ३२ वटा बहुविवाहका मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष ०७७/०७८ मा यो संख्या बढेर ४९ वटा पुगेको हो । अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्षमा मोरङमा १७ वटा बुहविवाहका मुद्दा बढेको डिएसपी श्रेष्ठले जानकारी दिए । त्यस्तै आ.व. ०७५/०७६ मा भने ३९ वटा मात्र मुद्दा दर्ता भएको मोरङ प्रहरीले जनाएको छ । चालु आर्थिकको भदौ १ सम्म मोरङमा तीन वटा बहुविवाहका मुद्दा दर्ता भएका छन् ।
के छ कानुनी व्यवस्था ?
मुलुकी अपराध संहिताले विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने, विवाहित पुरुष हो भन्ने जानी जानी महिलाले पनि त्यस्तो पुरुषसँग विवाह गर्न नहुने व्यवस्था गरेको छ । यसरी विवाह गर्ने पुरुष वा महिलालाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने र त्यस्तो विवाह स्वतः बदर हुने कानुनी व्यवस्था छ तर पति वा पत्नीले अंशबण्डा गरी भिन्न भएमा त्यस्तो पति वा पत्नीले पुनः विवाह गर्न पाउने छुट दिएको छ ।

संस्कारका लागि बहुविवाह
विवाह गरेको पन्ध्र वर्षपछि पत्नी र १३ वर्षीय छोरालाई अलपत्र पारी विराटनगरका एक युवाले बहुविवाह गरेका छन् । सुनसरी धरान ८ घर भएकी दलित युवतीलाई प्रेम विवाह गरेका विराटनगर महानगरपालिका ५ सम्झनाचोकमा ३७ वर्षीय सविन गैरेले पन्ध्र वर्षपछि कुलको सांस्कृतिक कर्म चलाउन भन्दै दोस्रो विवाह गरेका हुन् ।
उक्त विवाहलाई लिएर पीडित ३६ वर्षीया पत्नी सम्झना दर्जी (गैरे) ले प्रहरीमा उजुरी दिएका छन् । सविनले सम्झनापट्टिका १३ वर्षीय छोरा प्रतीकलाई समेत बेवास्ता गरेका थिए । सम्झनालाई सविनले बेला बेला जात ढाँटेर घरमा ल्याउने गरेका थिए तर परिवारले दलित हो भन्ने थाहा पाएलगत्तै घरपरिवारमा संस्कार नचल्ने भन्दै सविनलाई दबाव दिँदै आएका थिए । सविनले काठमाडौंको मैतीदेवीमा सम्झनालाई भाडाको घरमा राखेर जापान बस्दै आएका थिए । सविनले २०७७ मंसिरमा झापा सुरुङ्गा घर भएकी ममता ओलीसँग घरपरिवारको उपस्थितिमा दोस्रो विहे गरेका हुन् ।
सम्झानाले सविन र ममताविरुद्ध जिल्ला प्रहरी मोरङमा बहुविवाह कसुरमा किटानी जाहेरी दिएकी छन् तर मोरङ प्रहरीले सविन र ममतालाई पक्राउ नगरी अनुसन्धान सकाएर मुद्दा अदालतमा बुझाएको थियो । अदालतमा सुटुक्क हाजिर भएका सविनले डेढ लाख धरौटी बुझाएर छाडिएका छन् । विहेपछि पटक–पटक पति सविनसँग विराटनगर घर आएकी सम्झनालाई सासुससुराले समेत आफूहरूकी बुहारी नभएको र नचिन्ने कानुनी वयान दिएका छन् । तर उनीहरूले अस्वीकार गरे पनि विहे दर्ता र छोराको जन्मदर्ता र सविनसँग विवाह गर्दाका तस्बिरहरू सम्झनासँग सुरक्षित छ । बहुविवाह गरी पतिले अलपत्र पारेपछि सम्झना हाल धरान माइतीघरको आश्रयमा छिन् । पतिले धोका दिएर अलपत्र बनाएपछि आजकल जीविकोपार्जनमा समस्या भएको उनले गुनासो गरिन् ।
सम्झानाका अनुसार पछिल्लो समय सविन धेरै दिन काठमाडौं डेरामा आएनन् । नियमित सम्पर्क गरिरहने र छोरालाई पनि असाध्यै माया गर्ने उनले फोन सम्पर्क पनि नगरेपछि किन यस्तो भयो भनेर सोधखोज गर्दा पति सविनले परिवारकै सहयोगमा मागी विवाह गरेको थाहा पाएको बताइन् । त्यसपछि उनी पति खोज्दै विराटनगरस्थित घरमा आएकी थिइन् । ‘घरमा आइपुग्दा ससुरा शिवहरि गैरेलगायतले अछुत जातकी रहेछौं । यसैले तिमीलाई कुलमा चलाउन सकिँदैन बरु ८–१० लाख रुपैयाँ दिन्छौँ गरेर खाउँ यहाँ आएर दुःख नदेऊ भन्दै हप्काएर पठाएँ,’ सम्झनाले भनिन् । विवाह र जन्मदर्ताको प्रमाण–पत्र पनि आफूसँग सुरक्षित भएकाले कानुनी हक खोज्न पाउने बताइन् । यता सासुससुरा तथा आफन्तजनले ‘हामी पहुँचवाला हौँ तिमीले चाहेर पनि हामीलाई केही गर्न सक्दैनौँ जे गर्नु छ गर तिमीलाई हामी चिन्दैनौ’ भन्दै धम्की दिने गरेको उनले बताइन् ।
उनले न्यायका लागि सरोकारवालाहरूसँग हारगुहार गरिरहेकी छन् । ‘सबै प्रमाण हुँदाहुँदै पनि बहुविवाह गर्ने व्यक्ति धरौटीमा छाडिएछ,’ गहभरी आँशु पार्दै उनले भनिन्, ‘दलित भएकै कारण म र मेरो छोरा अलपत्र भयौं हामीलाई भगवान्ले पनि न्याय दिलाएनन् ।’ सम्झनाका अनुसार पन्ध्र वर्षअगि उनी काठमाडौंमा ब्युटीपार्लर व्यवसाय सञ्चालन गर्दै आएकी थिइन् । जापान जान भनेर काठमाडौं आएका सविनसँग भेटघाट भइएपछि प्रेममा परिणत हुँदै २०६३ सालमा विवाहमा परिणत भएको थियो । विहेको एक वर्षपछि सविन जापान गएका थिए ।
जापानमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका उनले काठमाडौंमा पत्नी र छोरालाई डेरामा राखेर संरक्षण गर्दै आएको उनले बताइन् । जापानबाट पत्नी सम्झनासँग नियमित सम्पर्क गरी पैसा पठाउने र समय समयमा आउजाउ पनि गर्दै आएका थिए । बेलाबेला उनले जात ढाँटेर पत्नी र छोरालाई विराटनगरस्थित घर पनि ल्याउने गरेका थिए तर सधँै डेरामा बस्न गाह्रो हुने बरु घरमै बसेर व्यापार—व्यावसाय पनि गर्न सकिने, छोराको हेरचाह र पढाइ पनि राम्रो हुने भन्दै सम्झनाले आग्रह गर्दा सविनले घरमा ल्याएर सधैका लागि राख्न आलटाल गर्ने गरेका थिए ।
उनले चाँडै आमाबुबालाई सम्झाएर घरमा ल्याएर राख्ने आश्वासन दिन्थे । पछिल्लो समय कोरोना संक्रमण सुरु भएपछि लकडाउनले गर्दा नेपाल आएका सविनले गत वर्ष झापाकी ममता ओलीसँग विहे गरेका हुन् ।