सुनसरी । पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेज क्षेत्रमा रहेका माछा पसलहरूमा अस्वस्थकर माछाका विभिन्न परिकार बनाई बिक्री वितरण भइरहेकोे पाइएको छ ।
अनुगमन प्रभावकारी नहुँदा बजारमा अस्वस्थकर माछासँगै अन्य अखाद्य वस्तु बिक्री वितरण भइरहेको पाइएको हो । केही महिनाअगाडि कोसी गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमन समितिकी संयोजक अनितादेवी यादवको नेतृत्वमा गरिएको बजार अनुगमनको क्रममा समेत कोसी गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेका पसलहरू गैरकानूनी रूपमा सञ्चालनमा रहेको पाइएको थियो ।
बजार अनुगमनका क्रममा कोसी गाउँपालिका वडानम्बर ८ भण्टाबारी र कोसी ब्यारेज क्षेत्रमा सञ्चालित अधिकांश पसलहरूमा म्याद गुज्रेका सामान बिक्री गरिनुका साथै दर्ता नै नगरी गैरकानूनी रूपमा सञ्चालनमा रहेको पाइएपछि ती पसल सञ्चालकहरूलाई पसल कानूनी रूपमा दर्ता गरी व्यवस्थित गर्न निर्देशन दिइएको थियो । यद्यपि सो निर्देशन कार्यान्वयनमा आएको पाइएको छैन ।
कहिलेकाहीँ मात्र बजार अनुगमन हुँदा जिल्लाका अधिकांश स्थानीय तहका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका पसलहरू गैरकानूनी रूपमा सञ्चालन भएको स्थानीय बताउँछन् । सुनसरी र सप्तरी जिल्लास्थित कोसी ब्यारेज क्षेत्रमा ‘कोसीको माछा’ भन्दै भारतीय माछाको व्यापार गरिँदै आएको स्थानीय सहादत मियाँले गुनासो गरे ।

स्थानीय तहका जनप्रतिनिधि र सरकारी अनुगमन टोलीले अनुगमन गरेर ढोल पिट्ने काममात्र भएको स्थानीयको आरोप छ । सरकारी निकायले सक्रिय भएर बजार अनुगमन गरेको बताइरहँदा जिल्लामा व्यापारीको मनपरी बढेको उनीहरूले गुनासो गरे । दैनिक सयौं उपभोक्ता पुग्ने र किनबेच गर्ने बजारमा नै अनुगमन नहुँदा व्यापारीले मनपरी गर्दै आएको इनरुवाका सरोज मेहता बताउँछन् ।
जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयबाट खटिने टोलीले कहिलेकाहीँ गर्ने अनुगमन देखाउनका लागि मात्र हुने गरेको उनको भनाइ छ । ‘बजारमा व्यापारीको मनपरी बढेको बारे ध्यानाकर्षण गराउँदा जनप्रतिनिधि र कर्मचारीले सक्रियताका साथ बजार अनुगमन गरिरहेको दाबी गर्छन्’ मेहताले भने, ‘तर, सरकारी टोलीले बजारको मनपरीलाई देखेको नदेखेजस्तै गरिरहेका हुन्छन् ।’
व्यवसायीलाई सचेत गराइयो
अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गरिरहेको पाइएपछि दिइएको निर्देशनसमेत कार्यान्वयन नभएपछि कोसी गाउँपालिकाले होटल व्यवसायीसँग अन्तरक्रिया गरेर सचेत गराएको छ ।
कोसी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवको अध्यक्षतामा बुधबार आयोजना गरिएको कार्यक्रममा उनीहरूलाई खाद्य प्रविधि कार्यालय विराटनगरका खाद्य प्रविधि अधिकृत काशीराम घिमिरेले व्यवसाय सञ्चालन गर्दा व्यक्तिगतसँगै पसलको सरसफाइ, बजारमा अखाद्यवस्तु बिक्री वितरणको अवस्था, त्यसबाट भावी दिनमा पर्न सक्ने जोखिम, बच्न सकिने उपाय, अपनाउनुपर्ने सावधानीलगायतका बारेमा सहजीकरण गरेका छन् ।
कार्यक्रममा कोसी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा ठेलामा व्यवसाय गर्नेदेखि लिएर होटल सञ्चालकहरू, उद्योग वाणिज्य सङ्घ कोसीका प्रतिनिधि, उपभोक्तालगायत सरोकारवालाहरूको सहभागिता रहेकोे थियो । बजार अनुगमनका क्रममा सञ्चालनमा रहेका अधिकांश पसलहरूमा म्याद गुज्रेका सामान बिक्री गरिनुका साथै दर्ता नै नगरी गैरकानूनी रूपमा अव्यवस्थित तरिकाले सञ्चालनमा रहेको पाइएको हुँदा त्यस्तालाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको कोसी गाउँपालिका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले बताए ।
‘हामीले समय–समयमा बजार अनुगमन गर्दै आएका छौं तर, पनि कतिपय स्थानमा उपभोक्ता ठगिएका गुनासो आउने गर्छ, त्यस्ता मनपरी र कालोबजारी रोक्न नयाँ योजना ल्याउँछौं’–कोसी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवले भनिन् । अनुगमन नहुँदा बजारमा उपभोक्ता ठगिने गरेको गुनासो आउने गरेकाले जिल्लाका स्थानीय तहहरूसँग समन्वय गरेर बजार अनुगमन कार्यलाई तीव्रता दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
बजारमा अखाद्य वस्तु बिक्री वितरण भइरहेकोे पाइएको बताउँदै खाद्य प्रविधि कार्यालय विराटनगरका खाद्य प्रविधि अधिकृत काशीराम घिमिरेले उपभोक्तासँगै व्यवसायीहरू सचेत हुनुपर्नेमा जोड दिए । बजारमा पाइने अखाद्य वस्तु वा पदार्थ निरन्तर खाइएमा त्यसबाट झाडापखाला, टाइफाइड, क्यान्सरलगायत रोग लाग्नसक्ने उनको भनाइ छ ।
न्यून गुणस्तर वा दूषित खाद्य पदार्थ बिक्री वितरण कार्य गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने प्रावधान रहेको खाद्य प्रविधि अधिकृत घिमिरेले जानकारी दिए ।