विराटनगर । सप्तकोसी डेभलपमेन्ट बैङ्कको घोटाला प्रकरणमा मुछिएका बैङ्कका तत्कालीन सिइओ नवीन सुवेदीले घूस रकम दिनुपर्ने भन्दै तत्कालीन बैङ्कका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईबाट रकम लैजाने गरेको खुलेको छ ।

बैङ्किङ कसुर मुद्दामा पक्राउ परेका भट्टराईले दिएको बयानअनुसार सुवेदीले धितोपत्र बोर्डलाई घूस दिन भन्दै दुई पटकमा १ करोड ५० लाख रकम लिएको उच्च अदालतमा दर्ता भएको अभियोग पत्रमा उल्लेख छ । अभियोग पत्रको पेज नम्बर ६ मा हिमाल भट्टराईको बयानमा सो कुरा उल्लेख छ ।

‘अचानक आजभन्दा करिब ३ महिनाअगाडि फेरि पनि धितोपत्र बोर्डलाई घूस दिनुपर्ने भयो भनी मेरो करेन्ट एकाउण्ट प्रयोग गरी करिब ७० लाखदेखि ८० लाख जति निकाल्न लगाई उक्त रकम नवीन सुवेदीले लानुभयो’–उनले दिएको बयानमा उल्लेख छ । भट्टराईले आफूलाई प्रशिक्षार्थी कनिष्ठ पदमा नियुक्त गरेर काम गर्दैै गर्दा नियुक्ति भएको ७ वर्षमा ७ पटक बढुवा भई कनिष्ठ अधिकृत पदमा बढुवा गरेको पनि बताएका छन् ।

नातामा सुवेदीको भट्टराई भान्जा पर्दछन् । तत्कालीन सिइओ सुवेदीले भट्टराईमार्फत् ९ जना कर्मचारी मिलेर सप्तकोसी बैङ्ककको  १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचन गरेको अभियोग पत्रमा उल्लेख छ ।

अपचलन गरेको रकममध्ये रेमिट खाताको सन् २०१६ अगष्ट ७ तारिखदेखि बबिता बस्नेतको खाता नं. ९९९०००१५००१५ बाट १४ करोड ५ लाख २१ हजार ३ सय ६५ रुपैयाँ र खर्च खाताबाट सन् २०१६ अप्रिल २२ तारिखमा १ लाख ७२ हजार ३ सय ७० रुपैयाँ गरी ६ वर्षमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ अपचलन गरेको अभियोग पत्रमा उल्लेख छ ।

घोटाला भएको जम्मा रकममध्ये रेमिट शीर्षकबाट १५ करोड ६९ लाख ७७ हजार ९ सय ७७ रुपैयाँ र खर्च शीर्षकबाट ५ लाख ६२ हजार ५ सय ९८ रुपैयाँ अपचलन २०७२ सालदेखि २०७८ मङ्सिरसम्म गरेको देखिएको छ ।

बैङ्कबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपलचन भएको रकम बैङ्कका कर्मचारीसहित ६ जनाको खाताबाट भएको देखिएको छ । सुवेदीको नाता पर्ने बबिता बस्नेत, बैङ्कका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, अपरेसन प्रमुख अमित थापामगर, कमल दाहाल, मनोज भट्टराई र चूडाबहादुर निरौलाको नामको खाताबाट रकम अपचलन गरेको देखिएको छ ।

हिमाल भट्टराईले विभिन्न मितिमा चार पटक रकम झिकेको देखिएको छ । भट्टाराईले ९९९००००६४४०११ नं. खाताबाट सन् २०२१ अक्टोबर २६ तारिखमा ७७ लाख ९७ हजार ८ सय ८० रुपैयाँ,  २०१८ अप्रिल १ मा १९ लाख ३१ हजार १ सय ६९ र २०१६ मार्च २७ गते ४२ हजार ५ सय रुपैयाँ रेमिट र खर्च खाताबाट रकम झिकेको देखिएको छ ।

यसैगरी कमल दाहाल र मनोज भट्टराईको खाताबाट विभिन्न मितिमा २–२ पटक रकम झिकेको देखिएको छ । कमल दाहालको रेमिट खाताबाट २०१६ अगष्ट १ तारिखमा  २ लाख ६० हजार, २०१६ मार्च ३० तारिखमा खर्च खाताबाट १ लाख १३ हजार ६ ८० रुपैयाँ झिकेका छन् ।

यस्तै मनोज भट्टराईको खाताबाट २०१६ ओक्टोबर ६ तारिखमा रेमिट खाताबाट ३३ लाख ८१ हजार ६३ र खर्च खाताबाट सोही मितिमा १ लाख ९३ हजार ४८ रुपैयाँ अपचलन भएको देखिएको छ ।

बैङ्कका अपरेसन प्रमुख अमित थापा मगरको रेमिट खाताबाट २०१६ नोभेम्बर ३ तारिखमा ३ लाख ८६ हजार ५ सय रुपैयाँ हिनामिना भएको छ । यस्तै चूडाबहादुर निरौलाको खर्च खाताबाट २०१६ मार्च २१ तारिखमा ४१ हजार रुपैयाँ झिकेको देखिएको छ ।

सुवेदीको बयान सकियो, अरूको आज बैङ्किङ कसुरमा पक्राउ परेका सप्तकोसी बैङ्कका तत्कालीन सिइओ नवीन सुवेदीको उच्च अदालत विराटनगरको वाणिज्य इजलासमा बयान सकिएको छ । मङ्गलबार जिल्ला सरकारी वकिलको कार्यालयले बैङ्किङ कसुरमा सुवेदीसहित १२ जनाविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको थियो ।

अभियोग दर्ता भएपछि बिहीबारदेखि प्रतिवादीको बयान सुरु भएको उच्च अदालत विराटनगरका सुपरिटेण्डेण्ट ओमराज सुवेदीले जानकारी दिए । ‘पक्राउ परेकामध्ये एक जनाको बयान सकिएको छ’ उनले भने, ‘थप तीन जनाको बयान बिहीबार हुनेछ । प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।’ सो मुद्दामा पाँच जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एक जनालाई कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको प्रतिवादीको हकमा छुट्टै सुनवाइ हुनेछ ।

1f 12f 13f 1