भद्रपुर । बाहिरी देशबाट सुपारी आयात हुँदा झापाका किसानले उत्पादन गरिरहेको सुपारीले बजार नपाएको गुनासो गरेका छन् ।

जिल्लास्थित सुपारी जोनले विदेशबाट सुपारीको आयात बन्द गर्न उनीहरूले सरकारसँग माग गरेका छन् । इण्डोनेशियाबाट भित्रिने सुपारी चोरी निकासी भएर भारत जाने र तस्करी धन्दा मात्र फस्टाउने भएका कारण स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न सुपारीको आयात बन्द गरिनु पर्ने जोनका संयोजक नीलकण्ठ तिवारीको माग छ । 

संयोजक तिवारीले मन्त्रिपरिषद्बाट निर्णय गराएर सुपारीको आयात खुला गर्ने तयारी भइरहेको भन्दै विदेशी सुपारी आयात खुला गर्ने र स्वदेशी सुपारीको बजार तहस–नहस तुल्याउने कार्य भएमा झापाका सुपारी किसान आन्दोलनमा उत्रिन बाध्य हुने बताए ।

नब्बे वर्षअघि पूर्वी नेपालमा सुपारीको खेती सुरु भएकोमा वि.सं.२०३० सालदेखि किसानले यसको व्यावसायिक खेती गर्दै आएको उनको भनाइ छ ।

झापा, मोरङ, सुनसरी, इलाम, उदयपुरलगायत जिल्लाको सात हजार हेक्टर जमिनमा सुपारी खेती भइरहेको र यसबाट वार्षिक १४ हजार मेट्रिक टन सुपारी उत्पादन हुँदै आएको जनाइएको छ । यो सुपारी केही स्थानीय उद्योगमा र अधिकांश वैधानिक रूपमा भारत निकासी हुँदै आएको उल्लेख छ ।

झापामा मात्र दुई हजार सात सय हेक्टरमा सुपारी खेती हुने गरेको छ । सुपारी एक हजार मिटरको उचाइसम्मको जमिनमा खेती हुने गर्दछ ।

भन्सार छुटमा भारत निकासी हुने भएको हुँदा सुपारीको बजार भाउ निकै राम्रो हुने गरे पनि इण्डोनेशियाबाट आयात गरेर भारततिर चोरी निकासी हुने भएकाले स्थानीय उत्पादन गोदाममै सड्ने गरेको छ । नेपालमा सुपारी खेतीमा एक लाख २५ हजार महिलाले सात महिनासम्म प्रत्यक्ष रोजगारी पाउने गरेको संयोजक तिवारीको भनाइ छ ।

एक हजारभन्दा बढी किसानले गरेको खेतीमा सुपर जोन लागू हुने सरकारी नीति भए पनि हालसम्म नेपाल सरकारले सुपारीको सुपर जोन घोषणा गरेको छैन । संयोजक तिवारीले सुपारीको सुपर जोन घोषणा गरेर यसमा आश्रित किसानलाई सहुलियत प्रदान गर्न माग गरे । सरकारले पाँच वर्षअघि सुपारी क्षेत्र मात्र घोषणा गरेको र सरकारी निकायबाट खासै सहयोग प्राप्त नभएको सम्बद्ध किसानको गुनासो छ ।