भद्रपुर । सुपारी खेतीका बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृति सार्वजनिक गरिएको छ । सुपारी खेतीमा विद्यावारिधि गरेका डा. शरणकुमार रिजालले नेपालमा सुपारी खेती तथा उद्योग नामक कृति प्रकाशित गरेका हुन् ।

नेपाली मूलका भारतीय रिजालले प्रकाशित गरेको पुस्तकको मेचीनगरका नगरप्रमुख बिमल आचार्यले लोकार्पण गरे । ११८ पृष्ठको सो पुस्तकमा सुपारी खेती तथा उद्योगका विषयमा महत्वपूर्ण वणर्न गरिएको पुस्तकको समीक्षा साहित्यकार तथा शिक्षक ज्ञानेन्द्र ढुङ्गानाले गरेका थिए । सुपारी जोन समिति झापाका अध्यक्ष निलकण्ठ तिवारी प्रकाशक रहेका छन् । 

सुपारी खेतीका बारेमा नेपाली भाषामा लेखिएको यो नै पहिलो कृति भएको जनाइएको छ ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले स्वागत गरेको कार्यक्रममा मेचीनगरकी उपप्रमुख मीना उप्रेती, कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, उपभोक्ता जागरण अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, कृषि ज्ञान केन्द्र झापाका विज्ञ शालिकराम भट्टराई, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्राविधिक रविन निरौला लगायतको उपस्थिति रहेको थियो ।

नेपाल सुपारी खेती विकास संस्थाका संस्थापक अध्यक्ष दुर्गालाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए ।