यासोक । कुम्मायक गाउँपालिका सरोकार मञ्च दक्षिण कोरिया नामक संस्थाले यासोक बजारका अग्नि पीडितलाई आर्थिक सहयोग गरेको छ ।

सरोकार मञ्चले दक्षिण कोरियामा सङ्कलन गरेको १ लाख ४१ हजार ५ सय नगदबाट पीडित परिवारलाई सहयोग गरेको हो । गत माघ २९ गते विद्युत् सट भई आगलागी हुँदा स्थानीय व्यवसायी झरेन्द्र खतिवडाको घरसहित पाँच पसल नष्ट भएको थियो । आगगालीबाट पाँच पसलको एक करोडको क्षति भएको थियो । 

सरोकार मञ्चले सङ्कलन गरेको रकम पीडित घरधनी झरेन्द्र खतिवडालाई १ लाख २ हजार रुपैयाँ, सोही घरमा व्यवसाय सञ्चालन गर्दै आएका याम रम्तेललाई १५ हजार र मिलन गर्तौलालाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यस्तै शर्मिला लावती ७ हजार र टेकबहादुर दर्जीलाई ७ हजार रकम हस्तान्तरण गरिएको मञ्चका संयोजक गणेश चेम्जोङले बताए ।

विदेशमा आफ्नो गाँस काटेर बचाएको केही रकमबाट गरिब र दीन–दुःखीहरूको पीडामा मलहम पट्टी लगाउन सरोकार मञ्च दक्षिण कोरियाले लामो समयदेखि पुण्यको काम गर्दै आएको मञ्चका संयोजक चेम्जोङले बताए । यसअघि पनि बजारका अग्नि पीडित परिवारहरूलाई स्वदेश तथा विदेशका श्रमिकहरूले आर्थिक सहयोग गरेका थिए ।