सङ्खुवासभा । निरन्तरको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा आइतबार राति पहिरो जाँदा खाँदबारी नगरपालिका–६ खिप्रिङमा एक घर पुरिएको छ । सो स्थानका अन्य घरहरूसमेत उच्चजोखिममा रहेको प्रहरीले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधिहरू बिहानैदेखि अनुगमन तथा व्यवस्थापनमा लागेका छन् । पहिरोको जोखिम बढेपछि घरमा रहेका स्थानीय आफन्तकहाँ बसेका थिए ।
हालसम्म मानवीय क्षति भने भएको छैन । सो स्थानमा गएको पहिरोका कारण बालीनाली बगाएको छ । धान, मकैलगायतका बाली सबै बगाएको खाँदबारी नगर प्रमुख महेश थपलियाले जानकारी दिए । उनले जोखिममा रहेकाहरूलाई व्यवस्थापन र राहतमा जुट्ने बताए । उनका अनुसार विस्थापित सात परिवारलाई त्रिपाल तथा खाद्यान्न व्यवस्थापनका लागि नगरपालिकाबाट काम सुरु भइसकेको छ भने खोल्सीलाई व्यवस्थित गरी पानी कटाउन डोजर परिचालन गरिएको छ ।
यता चिचिला गाउँपालिका–१, ३ र ४ नं. वडाका १० घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई सामुदायिक भवन तथा आफन्तहरूको घरमा राखिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिए । गाउँपालिका र सुरक्षा निकायबाट अनुगमन भइरहेको छ भने अझै विस्थापितहरू बढ्न सक्ने उनीहरूको भनाइ छ ।

विस्थापितहरूलाई राहत तथा व्यवस्थापनको लागि गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको छ । विभिन्न स्थानमा गएको पहिरोका कारण सदरमुकाम खाँदबारीदेखि जिल्लाका अन्य पालिकाहरूको सम्बन्ध टुटेको छ । नजिकको पालिका चिचिला, मकालु, भोटखोला तथा सिलिचोङ गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।
भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर–दक्षिण सडक–खण्डको खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै गएको पहिरोले मकालु गाउँपालिका–३ नयाँ बस्तीमा सडक–खण्ड अवरुद्ध भएको हो ।
उत्तर–दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडानम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिए । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका र मकालुका केही वडासँग सम्बन्ध टुटेको छ ।
सडक कार्यालयका प्रमुख इन्जिनियर रजकका अनुसार सडक–खण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिकाका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन अरुण तेस्रोको ड्यामसाइडमा रहेको मोटरेबल पुल अरुण नदीको पानीको बहाव बढेसँगै उच्च जोखिममा रहेको छ । जसको दुवैतर्फ नदीले कटान गरिरहेको छ ।