विजयपुर । धरान उपमहानगरको मुख्य बजारक्षेत्र व्यवस्थापन गर्नका लागि ‘वान वे’ गरिने भएको छ ।

शुक्रबार धरान नगरमा सुरक्षा निकायसहित बसेको बैठकले फागुन ८ गतेदेखि ‘वान वे’ लागू गर्ने निर्णय गरेको हो । धरान उपमहानगरका बजार अनुगमन अधिकृत बेदप्रसाद सापकोटाका अनुसार पहिलो चरणमा भानुचोकदेखि लक्ष्मीचोकसम्म वान वे गरिने भएको छ ।

गाडीहरू लक्ष्मीचोकदेखि पुरानो बजार हुँदै माछाभौडी देशीलाइनबाट भानुचोक आउने छन् । अधिकृत सापकोटाले भने, ‘वान वे गरेपछि मोटरसाइकल पनि हिँड्न नपाउने भन्ने निर्णय भएको छ ।’

उनका अनुसार वान वे का बारेमा माघ २९ गते सूचना प्रकाशित गरी जानकारी गराइने छ । बैठकले घण्टाघर दक्षिणतर्फको सिटी सफारी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

अधिकृत सापकोटाले भानुचोक दक्षिणतर्फका सफारीलाई उत्तरतर्फ ४ वटा मात्रै राख्न दिने निर्णय गरेको बताए । उनले भने, ‘भानुचोकमा पार्किङ गर्न पाइँदैन ।’ वान वे गर्नका लागि ‘ट्राफिक, फर्निचर’ आवश्यक स्रोत साधन नगरले व्यवस्थापन गर्ने भएको छ ।