इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको तेह्रौँ संस्करणमा साविक विजेता सगरमाथा फुटबल क्लब मोरङ र चर्च ब्वाइज क्लब अन्तिम चारमा प्रवेश गरेका छन् ।
इटहरी गोल्डकप शनिबारदेखि इटहरी रङ्गशालामा सुरु भएको छ । उद्घाटन खेलमा सगरमाथाले २३ औँ बूढासुब्बा गोल्डकप विजेता एभिनियर एफसीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ दी म्याच सगरमाथाका मेसुके घोषित हुँदै नगद १० हजार रुपैयाँ पाए ।
त्यस्तै दोस्रो दिन आइतबारको खेलमा आयोजक राष्ट्रिय जागृति क्लब इटहरीलाई २–० गोलले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनाएको हो । खेलमा चर्च ब्वाइजका आशिष चापागाईं र मौसम लिम्बूले गोल गरे । सुरुवाती खेलबाटै दबाव सिर्जना गरेको चर्च ब्वाइजले खेलको ४५ औँ मिनेटमा खाता खोलेको थियो । खेलमा विपक्षी गोलरक्षक निरोज चौधरीले आशिष चापागाईंलाई लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो ।
त्यस्तै मौसमले खेलको ५६ औँ मिनेटमा अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरे । खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका प्रशान्त लक्सम घोषित हुँदै नगद १० हजार रुपैयाँ पाए ।
आज (सोमबार) को खेल मच्छिन्द्र क्लब काठमाडौँ र कञ्चनजङ्गा फुटबल क्लब भारतबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।