विराटनगर । इन्डो–नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमी (बिसिसिए) ले जितेको छ ।
३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि–२० क्रिकेट एसोसिएसनलाई सोमबार ४९ रनले पराजित गरी २–१ को शृङ्खलामा बिसिसिएले उपाधि जितेको हो ।
पहिलो खेलमा भारतलाई ९ विकेटले पराजित गरेको बिसिसिए टोली आइतबार भएको खेलमा ६ विकेटले पराजित भएको थियो । अब मङ्गलबार ३० ओभरको एक खेल खेल्न बाँकी रहेको छ ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेलमैदानमा टस हारेर ब्याटिङ गरेको बिसिसिएले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर बनाएको थियो । घरेलु टोलीका लागि सम्झना खड्काले नटआउट ५५ रन बनाउँदा कविता जोशी पनि ११ रनमा नटआउट भइन् ।
त्यस्तै नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री ५१ रन बनाएर आउट भइन् । भारतकी कप्तान रितु भोस्ले, रिना रानी र निधि भाग्यसियाले १–१ विकेट लिए ।
जवाफमा १ सय ३८ रनकोे लक्ष्य पछ्याएको भारतीय महिला टोलीले पूरै ओभर खेल्दै ७ विकेट गुमाई ८८ रनमा सीमित भयो । भारतकी अरपिताले नटआउट ३७ बनाउँदा निधि भाग्यसियाले नटआउट १७ रन बनाइन् । बिसिसिएकी कप्तान रुविना क्षेत्री, सवनव राई, कविता जोशी र अस्मिता कर्माचार्र्यले समान १–१ विकेट लिए ।