धरान । विभागीय टोली त्रिभुवन आर्मी क्लब १३ औँ इटहरी गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
इटहरी रङ्गशालामा मङ्गलबार सम्पन्न प्रतियोगितामा विभागीय टिमले झापाको रोलिङ क्लब धुलाबारीलाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । आर्मीले जितेसँगै सेमीफाइनलको समीकरण पूरा भएको आयोजकले जनाएको छ । सुरुवाती मिनेटबाटै दबावमा राखेको आर्मीका दीपक गुरुङ, जिलेस्पीजङ कार्की, सुदील राई र पदम तामाङले गोल गरे । यता रोलिङबाट डेडी बाम्बाले सान्त्वना गोल गरे ।
खेलमा आर्मीले तेस्रो मिनेटमै गोल गर्दै अग्रता कायम गरेको थियो भने पूर्वाद्र्धको इन्जुरी समयमा अग्रता दोब्बर बनाएको थियो । खेलमा युद्ध शाहीको पासलाई जिलेस्पीजङ कार्कीले गोलमा परिणत गरे । यस्तै दोस्रो हाफको ६२ औँ मिनेटमा सुदीलले गोल गर्दै अग्रता तेब्बर बनाए । उनले दिनेश हेञ्जनको पासलाई सदुपयोग गरेका थिए । लगत्तै रोलिङका अफ्रिकी खेलाडी बाम्बाले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता छोट्याए पनि जितका लागि पर्याप्त भएन । डिबक्समा आर्मीका विमल पाण्डेले ह्यान्ड बल गरेपछि रोलिङले पेनाल्टीको अवसर पाएको थियो ।
बाम्बाले त्यस अवसरलाई गुमाएनन् । यता इन्जुरी समयमा पदम तामाङले गोल गर्दै जित सुनिश्चित गरे । रोलिङ यस वर्ष पनि आर्मीसँगै पराजित बनेको हो । यसअघिको गोल्डकपमा पनि आर्मीसँगै पराजित भएको थियो । अब आर्मीले चर्च ब्वाइज युनाइटेडसँग भोलि (बिहीबार) प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमीफाइनल खेल साविक विजेता सगरमाथा युथ क्लबले लिग विजेता मच्छिन्द्र क्लबसँगै प्रतिस्पर्धा गर्दै छ । सगरमाथाले क्वार्टरफाइनलमा २३ औँ बूढासुब्बा गोल्डकप विजेता एभिनियर एफसीलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । यता मच्छिन्द्रले भने आयोजक राष्ट्रिय जागृति क्लबलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको थियो ।
जित हात पारे पनि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लिगका कारण पनि अपेक्षाअनुरूपमा आफ्ना खेलाडीले प्रदर्शन गर्न नसकेको दाबी गरे । उनले खेलाडीहरूले २५ प्रतिशत मात्रै खेल प्रदर्शन गर्न सकेको बताए । यता रोलिङका प्रशिक्षक मुकुम लिम्बूले रक्षापङ्क्तिका खेलाडीहरूको कमजोर प्रदर्शनको फाइदा आर्मीले लिएको बताए । उनले गोलरक्षकको गल्तीका कारण पनि गोल खान पुगेको बताए । क्लबमा रहेका विदेशी खेलाडीहरूले पनि सोचेअनुरूपको प्रदर्शन नगरेको उनले बताए ।