सुनसरी । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित तवरबाट बसोबास गर्दै आएका परिवारहरूले निस्सा पाएपछि लालपुर्जा पाउने आशा पलाएको छ ।

हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी गाउँपालिकाले सुनसरीमा पनि निस्सा वितरण गरिरहेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडानम्बर ३ का बेचन सरदार भूमिहीन दलितको निस्सा पाएपछि अब जग्गा पाउने आशा पलाएको बताउँछन् । राष्ट्रिय भूमि आयोग सुनसरीले उनीसँगै देवानगञ्ज गाउँपालिका वडानम्बर ३ का ४ सय ५० परिवारलाई सोमबार निस्सा वितरण गरेको छ । जसमा १ सय ६५ परिवार भूमिहीन दलित, १ सय ६५ भूमिहीन सुकुम्बासी र १ सय २० अव्यवस्थित बसोबासी परिवार रहेका छन् ।

बेचनले भने, ‘भूमिको नाममा कहीँकतै नभएको निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास बढेको छ निस्सा नभई रातो लालपुर्जा नै पाएजस्तो महसुस गरेको छु ।’ निस्सा पाएपछि अब सरकारले जग्गा दिने सम्भावना बढेको भन्दै बेचनका साथै कोसी गाउँपालिका वडा नं. १ लौकहीकी आरती सदा पनि विश्वस्त छिन् । केही दिनअगाडि राष्ट्रिय भूमि आयोग सुनसरीले कोसी गाउँपालिका वडानम्बर १ का ७० भूमिहीन दलित, ९५ भूमिहीन सुकुम्बासी र ९५ अव्यवस्थित बसोबासी गरी जम्मा २ सय ६० परिवारलाई निस्सा वितरण गरेको थियो । ‘आफ्नो नाममा अहिलेसम्म जग्गा छैन’ आरतीले भनिन्, ‘निस्सा वितरण गरेपछि जग्गा नापजाँच कार्य सुरु हुन्छ, त्यसैले अब मेरो नाममा पनि जग्गा हुन्छ भन्ने आशा जागेको छ ।’ भूमिहीनलाई जग्गा दिलाउन पहिलो चरणमा निस्सा वितरण गरिएको बताउँदै कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले निस्सा वितरण गरिएको आधारमा नै जग्गाको नापजाँचलगायतका काम प्रक्रियाअनुसार अगाडि बढाइने बताए ।

वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीलाई निस्सा भूमि प्राप्तिको आधार भएको उनको भनाइ छ । निस्सा वितरण पहिले गर्ने योजना भए पनि निर्वाचनका कारण केही ढिलाइ भएको अध्यक्ष अन्सारीले बताए । जिल्लाको कोसी गाउँपालिकाको वडानम्बर १ मा  २ सय ६०, देवानगञ्ज गाउँपालिका वडानम्बर ३ मा ४ सय ५० र धरान उपमहानगरपालिकाको वडानम्बर ५ मा ४ सय बढी परिवारलाई निस्सा वितरण गर्ने कार्य सम्पन्न गरिएको राष्ट्रिय भूमि आयोग सुनसरीका अध्यक्ष भगिरथ खत्वेले जानकारी दिए । अध्यक्ष खत्वेका अनुसार वराहक्षेत्र नगरपालिका वडानम्बर ७ मा भने १० हजार ५ सय ९३ परिवारलाई निस्सा वितरणका साथै जग्गा नापजाँचको काम पनि सकिएको छ ।

जसमा ८ सय ७० भूमिहीन दलित, २ हजार ८ सय ८४ भूमिहीन सुकुम्बासी र ६ हजार ८ सय ३९ अव्यवस्थित बसोबासी रहेको उनले बताए । ‘वराहक्षेत्र नगरपालिका वडानम्बर ७ मा १० हजार ५ सय ९३ परिवारलाई निस्सा वितरण गरेका छौं’ अध्यक्ष खत्वेले भने, ‘निस्सा वितरणपश्चात्् ४० बिघा ३ सय ३ कित्ता जग्गा नापजाँच गरियो ।’ जिल्लाका १२ वटा स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी जम्मा ४० हजार ५० परिवारले निवेदन दर्ता गराएको उनको भनाइ छ । जसमा अधुरो काम भएको १ हजार १ सय ११ जना छन् ।

राष्ट्रिय भूमि आयोग सुनसरीका अध्यक्ष खत्वेले स्थानीय तहको समन्वयमा भूमिहीन परिवारलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने प्रक्रिया अन्तर्गत निस्सा वितरण गरेपछि नापजाँच गर्ने कार्य चलिरहेको बताए । जग्गा उपलब्धताका लागि निवेदन पेश गरेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नापजाँच कार्य सुरु गर्ने तयारी भइरहेको कोसी गाउँपालिका वडानम्बर १ का अध्यक्ष शोभितनारायण यादवले बताए । जग्गा नापजाँचका लागि नापी कार्यालय सुनसरीका सर्भेक्षकको नेतृत्वमा टोली खटाइएको राष्ट्रिय भूमि आयोग सुनसरीले जनाएको छ । भोगचलन गर्दै आएको ऐलानी जग्गा उपलब्धताका लागि निवेदन दिएका परिवारलाई लालपुर्जा प्रदान गर्नका लागि समयमै नापजाँच कार्य गराउनुपर्नेमा जनप्रतिनिधिहरूले जोड दिएका छन् ।