विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले १ बिघा जग्गा खरिदमा अनियमितता गरेको भन्दै छानबिन गरिनुपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित कानेपोखरी गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
कानेपोखरी–६ का स्थानीयले गाउँपालिका अध्यक्ष राजमति इङ्नाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खड्गबहादुर बस्नेतको कार्यकक्षमा मङ्गलबार तालाबन्दी गरेको हो । गाउँपालिकाले खरिद गरेको १ बिघा जग्गामा भएको अनियमितताको विषय सत्य–तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पुर्याउने नियतबाट गाउँपालिकाको केन्द्र सार्ने र प्रशासकीय भवन बनाउने निर्णयको विरुद्धमा गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षको कार्यालयमा तालाबन्दी गरिएको स्थानीय नवीन पौडेलले बताए । निर्वाचित जनप्रतिनिधिहरूको बेथितिविरुद्ध गाउँपालिकामा तालबन्दी गरिएको उनले बताए ।

‘सेवाग्राहीलाई सेवा प्रभाहमा कुनै पनि कठिनाइ नहुने तरिकाले हामी आन्दोलनमा उत्रिएका हौं’ उनले भने, ‘कानेपोखरी गाउँपालिका विधि र प्रक्रियामा चल्नुपर्ने हो । तर, चलेको पाइएन । त्यही भएर तालाबन्दी गरिएको छ ।’ गाउँपालिकाले प्रशासनिक भवनसँगै सामुदायिक भवन, शीत भण्डार र सेवा केन्द्र भवन निर्माणको लागि भनेर १ बिघा जग्गा खरिदमा अनियमितता भएको पाइएको छ । तत्कालीन गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको पालामा गाउँपालिकाले कानेपोखरी–५ मा १ बिघा जग्गा १ करोड ३४ लाख रुपैयाँ बढी मूल्य हालेर खरिद गरेको पाइएको हो । कम मूल्यमा जग्गा बिक्री गर्ने निवेदकलाई पाखा लगाएर पालिकाले कानेपोखरी गाउँपालिका वडा नं. ५ मा प्रतिकठ्ठा १० लाख २५ हजारका दरले २० कठ्ठा (१ बिघा) जग्गा २ करोड ५ लाखमा २०७८ असार २३ गते खरिद गरेको छ ।

पालिकाले २०७७ असोज १६ गते जारी गरेको सूचना बमोजिम कम मूल्यमा जग्गा उपलब्ध गराउने उषा चापागाईंको दर्ता भएको निवेदनलाई पाखा लगाएको पाइएको छ । उनले प्रतिकठ्ठा ३ लाख ५५ हजारमा जग्गा उपलब्ध गराउने प्रस्ताव दर्ता गराएकी थिइन् । तर, उक्त प्रस्तावलाई पाखा लगाएर पालिकाको तत्कालीन जग्गा व्यवस्थापन समितिले कानेपोखरी–५ स्थित इन्द्रकुमार गिरी र सीताराम गिरीको नाममा रहेको जग्गा प्रतिकठ्ठा १० लाख २५ हजार रुपैयाँले खरिद गरेको हो । प्रतिकठ्ठा ६ लाख ७० हजार बढी मूल्य हालेर २० कठ्ठा जग्गा खरिद गर्दा कानेपोखरी गाउँपालिकालाई १ करोड ३४ लाख रुपैयाँ व्ययभार परेको छ ।

छानबिन र कारबाहीको माग
जग्गा खरिदमा भएको अनियमितताको विषयमा छानबिन गर्न नेकपा (माओवादी केन्द्र) कानेपोखरीले माग गरेको छ । माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले एक विज्ञप्ति जारी गर्दै कम मूल्याङ्कनको जग्गा प्राप्त हुँदाहुँदै महँगोमा खरिद गरेको र हाल खरिद गरिएको जग्गामा पनि जग्गाधनीले प्रस्ताव गरेभन्दा बढी मूल्याङ्कन गरेकोले यो गम्भीर विषय भएको उल्लेख छ । ‘यसले पालिकाको पूरै नेतृत्व ‘कमिसनको सेटिङ’ मा चुर्लुम्म डुबेको त छैन ? भन्ने गम्भीर आशङ्का जन्माएको छ’ कार्कीले भनेका छन्, ‘यसबीचमा अलग–अलग सूचना प्रकाशित गरी अन्तिम सूचनामा ५ नं. वडाको भवन बनाउन भनिए तापनि ५ नम्बर वडाको भवन अन्यत्र बनाउन बजेट स्वीकृत गरिसकेको कुराले थप आशङ्का पैदा भएको छ, यस विषयमा छानबिन गरी दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।’ नेकपा (माओवादी केन्द्र) कानेपोखरीले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी दिएको छ ।

एमालेका तीन सय कार्यकर्ताले दिए राजीनामा
जग्गामा भ्रष्टाचार भएको र आफ्ना नेता संलग्न रहेको भन्दै कानेपोखरीका तीन सय जना एमालेका स्थानीय नेता तथा कार्यकर्ताले राजीनामा दिएका छन् । सोमबार एक कार्यक्रम आयोजना गरी उनीहरूले राजीनामा दिएका हुन् ।

यसरी राजीनामा दिनेमा नेकपा (एमाले) मोरङ जिल्ला सदस्य नवीन पौडेल, गाउँ कमिटी सचिवालय सदस्य खड्गबहादुर बस्नेत, युवा नेता कुमार फुयाल, उद्योग व्यवसायी महासङ्घका केन्द्रीय सदस्य डिल्ली फुयाल, अशोक फुयाल, ज्येष्ठ कम्युनिष्ट सदस्य मदनप्रसाद फुयाल, सङ्गठक युवराज दवाडी, राजकुमार बराल, पालिकाका इन्चार्ज नारायणकुमार बस्नेत, सह–इन्चार्ज भोलानाथ पराजुली, निर्वाचित वडा तथा कार्यपालिका सदस्य सुशीला श्रेष्ठ (मुना), राजकुमार लिम्बू, दुर्गा विकलगायत ३ सय जनाले सामूहिक राजीनामा दिएका हुन् ।

पौडेलले आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको वेथितिविरुद्ध सङ्घर्ष गर्दै पार्टी सुदृढीकरण र जननिर्वाचित प्रतिनिधि पार्टी निर्णयको अधीनमा जनताप्रति जवाफदेही हुनसक्ने स्थिति पैदा नभएसम्म ३ सय कार्यकर्ताहरूले  पार्टीको सम्पूर्ण जिम्मेवारी र सङ्गठित सदस्यबाट सामूहिक राजीनामा दिएको बताएका छन् ।

गाडी दुरुपयोगप्रति विरोध
मोरङको कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नामले सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

सार्वजनिक बिदाको दिन सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको भन्दै गाउँपालिकाको मुख्य प्रवेशद्वारमा मङ्गलबार हस्ताक्षर अभियान सङ्कलन गरेर विरोध गरेका हुन् । उनीहरूले भ्रष्ट जनप्रतिनिधि गाडीमा, जनता सबै खाडीमा, सार्वजनिक बिदाको दिन कानेपोखरी गाउँपालिकाको गाडी खोइ ? लगायतको ब्यानरमा हस्ताक्षर कार्यक्रम सुरु गरेका छन् । उनीहरूले गाउँपालिका कार्यालयको मुख्य गेटमा ब्यानर टाँगेर जनताको हस्ताक्षर सङ्कलन गरे । हस्ताक्षर सङ्कलन गरेको ब्यानर गाउँपालिका उपाध्यक्ष भोला अधिकारीलाई बुझाउने स्थानीय नवीन पौडेलले बताए । सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन गाउँपालिका अध्यक्ष इङ्नाम व्यक्तिगत कामले तेह्रथुम गएको बुझिएको छ । यस विषयमा बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष इङ्नामले फोन उठाइनन् ।